प्रदर्शनमा आउन १४ शिक्षक र कर्मचारी संघसंगठनको अपिल

काठमाडौं— सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीसँग सम्बन्धित १४ वटा संघसंगठनले भोलि शुक्रबार (२९ वैशाख) काठमाडौंको माइतीघर मण्डलामा हुने बृहत् विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा सबै प्रकारका शिक्षक, कर्मचारीका पेसागत मागबारे सरकारलाई दबाब दिन प्रदर्शन गर्न लागिएको हो ।
तत्काल संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, नयाँ आर्थिक वर्ष २०८०/८१ बजेटमा विद्यालय कर्मचारी र इसीडी शिक्षकलाई तलबभत्ता उपलब्ध गराउनुपर्ने, शिक्षण सिकाइ अनुदानका शिक्षकलाई दरबन्दीका शिक्षक सरह तलबभत्ता दिनुपर्ने लगायतका माग अघि सारिएको छ ।
जायज माग तत्काल पूरा गराउने उद्देश्यसहित गर्न लागिएको विरोध प्रदर्शनमा सक्रिय सहभागी भई त्यसलाई फलदायी बनाउन देशभरका शिक्षक र विद्यालय कर्मचारीलाई १४ संघसंगठनले अपिल गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८० ०९:२८













