
काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारमाथि गरेको टिप्पणीप्रति आत्मआलोचना गर्नुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले सभामुख घिमिरेले पत्रकारका बारेमा गरेको टिप्पणीप्रति आफूहरूको विमति रहेको बताए ।
सभामुखले पत्रकारका विषयमा गरेको टिप्पणी समाजको सामुन्यमा गम्भीर ‘नोटिस’ मा रहेको शर्माले बताए ।
‘त्यो विषय वास्तवमै गम्भीर छ किनभने व्यक्तिको रूपमा विश्वप्रकाशले के सोच्दछ, के बोल्दछ उसको कुरा हो । तर पार्टीको महामन्त्रीको रूपमा या सांसदको रूपमा विश्वप्रकाश शर्माले बोल्ने, सोच्ने, गर्ने व्यवहारको केही मर्यादाहरू हुन्छन् । त्यसैले के हो भने झापा क्षेत्र नं.२ बाट निर्वाचित हुनुभएको नेकपा (एमाले) का सांसदका रूपमा देवराज घिमिरेले के बोल्नुहुन्छ, त्यो उहाँको कुरा हो । तर नेपाल देशको सभामुखले देशको चौथो अंगको सन्दर्भमा बोल्नुभन्दा अगाडि सोच्नु पनि हजार पटक पर्छ । उनले जे बोल्नुभएको छ, त्यो विषय गम्भीर नोटिसमा समाजको सामुन्ने छ’, शर्माले भने ।
उनले राज्यको चौथो अंगको रूपमा रहेको पत्रकारिता क्षेत्र लोकतान्त्रिक रुपान्तरणका लागि आफैं संलग्न भएको भन्दै त्यस क्षेत्रप्रतिको टिप्पणी आलोच्य भएको बताए ।













