News Griha :: न्यूजगृह
पाकिस्तानको पञ्जाबमा पूर्वप्रधानमन्त्री खान पक्षधरको प्रदर्शन, करिब एकहजार पक्राउ

लाहोर— पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि सुरु भएको प्रदर्शनका कारण पाकिस्तानको सबैभन्दा बढी जनसङ्ख्या भएको प्रान्त पञ्जाबमा करिब एक हजार व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको छ । 

‘प्रहरी टोलीले प्रान्तभरिबाट ९४५ ‘कानुन उल्लङ्घन कर्ता र उपद्रवी’हरूलाई पक्राउ गरेको छ,’ अधिकारीहरूले सञ्चारमाध्यमलाई दिएको जानकारीमा उल्लेख गरिएको छ । 

प्राप्त जानकारी अनुसार खानलाई गरेपछि भएको हिंसामा १३० भन्दा बढी प्रहरी घाइते भएका छन् । 

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गत वर्ष सत्ताच्युत भएयता विचाराधीन दर्जनौँ मुद्दामध्ये एक मुद्दामा मङ्गलबार अदालतमा उपस्थित हुने क्रममा पक्राउ गरिएको थियो ।

महिनौँ लामो राजनीतिक सङ्कटपछि उनको गिरफ्तारी भएको हो । पाकिस्तानमा शक्तिशाली भूमिका रहेको सेनाले पूर्वअन्तर्राष्ट्रिय क्रिकेटरलाई उनको हत्याको षड्यन्त्रमा एक वरिष्ठ अधिकारीको संलग्नता रहेको आरोप लगाएको केही घण्टापछि उनलाई पक्राउ गरिएको हो ।

खानको पाकिस्तान तेहरीक–ए–इन्साफ ९पीटीआई० पार्टीका अधिकारीहरूले उनलाई पक्राउ गरेपछि समर्थकहरूलाई सडकमा आउन आग्रह गरेका थिए । तर, प्रहरीले चार जनाभन्दा बढी भेला हुन नपाइने आदेशलाई कडाइका साथ लागु गरिने चेतावनी दिएको छ ।

आन्दोलनका लागि पार्टीले गरेको आग्रहसँगै पीटीआई समर्थकहरूले राजधानी इस्लामावाद, लाहोर र पेशावरसहित देशभरका शहरहरूमा भेला भएर सडक अवरुद्ध गरेका थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १७:४८
Weather Update