News Griha :: न्यूजगृह
ठूला दलमा हलचल, सरकार होला त सफल ?

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणले दुई ठूला दलमा हलचल मच्चिएको छ । प्रकरणमा नाम मुछिएका पूर्वगृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेका छन् । आरोपित पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार छन् । उनीविरुद्ध एक साताअघि पक्राउ पुर्जी जारी भएपनि एमालेले बुधबार मात्र उनलाई सचिव पदबाट निलम्बन गरेको छ । 

केही दिन अगाडि सार्वजनिक अडिओमा नक्कली भुुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै खाण पत्नी मन्जु खाणले साढे ६ करोड रुपैयाँ बुझेको खुलेको थियो । अडिओ सार्वजनिक भएसँगै खाण र उनकी पत्नी यो प्रकरणमा जोडिएको पुष्टि भएको थियो । 

अडिओमा खाण पत्नीसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नीको पनि नाम जोडिएको थियो । तर, अहिलेसम्म देउवा पत्नी आरजु राणालाई प्रहरीले अनुसन्धानका लागि बोलाएको छैन । बरु विशेष स्रोतका अनुसार आरजु राणाले हाल प्रहरी हिरासतमा रहेका पूर्वसचिव टेकनारायण पाण्डेलाई गोप्य रूपमा भेटेकी छन् । ‘पाण्डेलाई अनुसन्धानको क्रममा आफ्नो नाम नलिन आरजुले दबाब दिइरहेकी छन्,’ स्रोतले भन्यो, ‘त्यही सिलसिलामा हिरासतमा रहेका पाण्डेलाई आरजुले गोप्य रूपमा भेटेकी हुन् ।’

त्यस्तै, यो प्रकरणमा संलग्न देखिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अदालतबाट पक्राउ पुर्जी जारी भएपनि पक्राउ परेका छैनन् । प्रहरीको विशेष टोलीले रायमाझीलाई खोजिरहेको छ । 

खाण पक्राउ परिसेकपछि नेपाली कांग्रेसभित्र हलचल मच्चिएको छ । केही दिनअघि बालकृष्ण खाणलाई यो प्रकरणमा नमुछ्न भन्दै प्रेस विज्ञप्ति जारी गरेको नेपाली कांग्रेस निकट नेपाल तरुण दल अहिले मौन देखिएको छ । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले अहिले नै यो विषयमा आफ्नो धारणा नदिने बताएका छन् । ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा तरुण दलका पूर्वसभापति समेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको नाम नजोड्नु’ भन्दै तरुण दलले मिडियालाई सचेत समेत गराएको थियो । 

पार्टीको तर्फबाट पनि कांग्रेसले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिइसकेको छैन । न्यूजगृहसँगको संवादमा पार्टीका सह–महामन्त्री जीवन परियारले दोषीलाई बचाउन कांग्रेस नलाग्ने प्रतिक्रिया दिए । ‘भ्रष्टाचारजस्तो गम्भीर विषयमा पार्टीले कसैलाई जोगाउनेगरी लाग्दैन । हामी जुनसुकै दलका जतिसुकै ठूला नेता भएपनि दोषी देखिएको खण्डमा कारबाही हुनुपर्नेमा स्पष्ट छौँ,’ परियारले भने । 

त्यस्तै कांग्रेस नेता शेखर कोइरालाले पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए कसैलाई पनि छाड्न नहुने बताएका छन् । अनुसन्धानको क्रममा पार्टीबाट कुनै पनि राजनीतिक दबाब सृजना गर्न नहुनेमा आफू स्पष्ट रहेको उनले बताए । 

नेता खाण कांग्रेसभित्र देउवानिकट मानिन्छन् । देउवाका अति घनिष्ठ सहयोगीको रूपमा आफ्नो परिचय बनाएपनि खाणलाई यो प्रकरणमा उनले बचाउन सक्ने देखिएको छैन । त्यस्तै यो प्रकरणमा देउवा पत्नी आरजु पनि समातिएको खण्डमा देउवालाई पनि कांग्रेसभित्र नैतिक दबाब पर्ने निश्चित छ । यसैपनि पछिल्लो समय नेपाली कांग्रेसभित्र आन्तरिक किचलो चर्किरहेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति देउवाविरुद्ध आन्तरिक संघर्ष गर्ने सार्वजनिक बयान दिइरहेका बेला देउवानिकट नेता र आफ्नै श्रीमतिमाथि गम्भीर भ्रष्टाचारको आरोप लागेपछि उनी तनावमा छन् । 

फेरियो प्रहरी रणनीति  

प्रहरीले यो प्रकरणमा आरजु राणा देउवा र मन्जु खाणविरुद्ध पनि प्रमाण जुटाइरहेको छ । हालसम्म यो प्रकरणमा प्रहरीले खाणसँगै पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई पक्राउ गरिसकेको छ । 

पक्राउ पुर्जी जारी भइसकेपनि पूर्वउपप्रधानमन्त्री रायमाझी, बादलपुत्र प्रतीक थापा लगायतलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । खासगरी एमालेनिकट नेताहरूलाई प्रहरीले पक्राउ गर्न नसक्दा एमालेले उनीहरूलाई जोगाउन लागेको आरोप खेप्दै आएको छ । केही दिन अगाडि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यो विषयमा चासो राखेपछि त झन् एमालेप्रति सर्वसाधारणहरू सामाजिक सञ्जालमार्फत खनिएका छन् । 

पक्राउ पुर्जी सार्वजनिक गरी अनुसन्धानका लागि पक्राउ गर्न खोज्दा यसअघि टोपबहादुर रायमाझी फरार भएपछि प्रहरीले अहिले अर्कै रणनीति अपनाएको छ । मङ्गलबार बालकृष्ण खाणलाई पक्राउ गर्दा पनि प्रहरीले ‘जरुरी पुर्जा’ थमाएको थियो । आरोपितलाई पक्राउ गर्नका लागि प्रहरीले ‘जरुरी पुर्जा’ थमाउने रणनीति लिएसँगै कुनबेला को समातिन्छन् ? भन्ने विषय अहिले निकै चासोका साथ हेरिएको छ । 

दबाबमा एमाले 

नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणलाई नै यो प्रकरणमा प्रहरीले पक्राउ गरेपछि नेकपा एमाले थप दबाबमा परेको छ । 

आफ्नो पार्टी सचिव रायमाझी र उपाध्यक्ष रामबहादुर थापा बादल पुत्र प्रतीकलाई बचाउनका लागि पार्टीले राजनीतिक हिसाबले लबिङ गरिरहेको आरोप एमालेले खेपिरहेको छ । यद्यपि, पार्टी सचिव रायमाझीलाई पदबाट निलम्बन गरेपछि एमालेले केही राहत महसुस गरेको हुनुपर्छ । 

एमाले महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै रायमाझीलाई पदबाट निलम्बन गरिएको जानकारी दिएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई यस सम्बन्धी अनुसन्धान र कानुनी कार्बाहीको प्रक्रियाको अन्तिम टुङ्गो नलागेसम्म पदबाट निलम्बन गरिएको जानकारी गराइन्छ ।’

संसद्मा समेत नेताहरूले प्रधानमन्त्रीलाई पूरा फिल्म देखाउन चुनौती दिएका थिए । त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले ‘हिरोइज्म’ देखाउनलाई मात्र अहिलेको प्रकरणलाई उचालेको प्रतिक्रिया दिएका थिए । प्रतिपक्षमा रहेको एमालेले आफ्नो दलका नेताहरूलाई मात्र सरकारले आक्रमण गरेको आरोप लगाइरहँदा खाण पक्राउ परेपछि भने एमालेभित्र चर्को दबाब सृजना भएको छ । 

एमालेको मूल नेतृत्वले आफ्नो उपाध्यक्ष र सचिवको बचाउ गरेपनि त्यसले काम नगर्ने देखिएको छ । यद्यपि एमालेको भातृ संगठनका नेताहरूले भने यो प्रकरणमा टोपबहादुर रायमाझी दोषी देखिए उनलाई कारबाही हुनुपर्ने सार्वजनिक रूपमा भन्दै आएका छन् । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका सचिव प्रकाश पौडेलले भाग्ने आरोपीलाई प्रहरीले ‘इन्काउन्टर’ गरेपनि फरक नपर्ने बताएका छन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १७:३८
समसामयिक
Weather Update