News Griha :: न्यूजगृह
मुगु हिमपहिरोः बाक्लो हिउँका कारण घटनास्थलसम्म पुग्नै सकेनन् सुरक्षाकर्मी
फाइल फोटो

काठमाडौं— अत्यधिक हिमपातका कारण मुगुको कार्मारोङ गाउँपालिका–१ र २ मा पर्ने च्याँखु लेकमा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजी गर्न समस्या भएको छ । सो क्षेत्रमा १० फिटभन्दा बढी हिउँ जमेकाले उनीहरूको खोजी हुन सकेको छैन ।

२२ वैशाखमा च्याँखु लेकमा हिम पहिरोमा परी यार्सागुम्बा सङ्कलन गर्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की (४०), ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय बीर बोहोरा बेपत्ता भएका थिए । उनीहरूको खोजीमा मङ्गलबारदेखि सुरक्षाकर्मी लागिपरे पनि बाक्लो हिउँ जमेकाले समस्या भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर बस्नेतले जानकारी दिए ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत वैशाख २४ गते बेपत्ताको खोजीका लागि सुरक्षाकर्मीसहित २३ जनालाई घटनास्थलमा पठाएको थियो । सुरक्षाकर्मीले घटनास्थलभन्दा चार घण्टा तल बेँसीमा रहेको छापा खोलामा क्याप राखी बेपत्ताको खाजी गर्दै आएको छ । घटनास्थलसम्म सुरक्षाकर्मी पुग्न भने सकिरहेको छैन ।

आज पुनः उनीहरूको खोजी गरिने प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । उनले भने, 'डोरी र लट्टीको सहाराले बेपत्ताको खोजी भइरहेको छ, बाक्लो हिउँ छ, त्यसमाथि हिउँ लगातार परिरहेको छ ।'

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १०:५८
Weather Update