News Griha :: न्यूजगृह
मगर भाषा पढाउँदै बाग्लुङको निसीखोला गाउँपालिका

बाग्लुङ— आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको बाग्लुङको निसीखोला गाउँपालिकाले मगर भाषामा पाठ्यपुस्तक तयार गरेको छ । गाउँपालिकाले मगर भाषामा पाठ्ययुस्तक तयार गरी यही शैक्षिकसत्रबाट लागु गर्ने तयारी गरेको हो ।

स्थानीय पाठ्यक्रम निर्माण निर्देशिकाअन्तर्गत रहेर निसीखोला गाउँपालिकाले कक्षा १ मा मगर भाषा समेटिएको पाठ्यपुस्तक पढाउने तयारी थालेको हो ।

जनजातिहरूको बाहुल्यता रहेको निसीखोला गाउँपालिकामा मगर (खाम) भाषा समेटिएको पाठ्यपुस्तक छपाइको तयारीमा रहेको जनाएको छ ।

आदिमकालदेखि बोलीचालीमा प्रयोग गर्दै आएको भाषा, संस्कृतिको जगेर्ना गर्नका लागि गाउँपालिकाले विद्यार्थीलाई मगर भाषा सिकाउन थालिएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले जानकारी दिए ।

पुस्तान्तरणको अभाव तथा पश्चिमा भाषा संस्कृतिको प्रभावका कारण मगर भाषा लोप हुने खतरा देखिएकाले मगर भाषा संरक्षणका लागि पाठ्यपुस्तक निर्माण गरेर अध्यापन गराउने गरी अहिले पाठ्यपुस्तक छपाईको तयारीमा रहेको अध्यक्ष घर्तीले जानकारी दिए ।

‘पछिल्लो समय नयाँ पुस्ताले मगर भाषामा चासो दिन छाडेका छन्, गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार गर्न सक्ने कानुनअनुसार अहिले कक्षा १ मा जेठ महिनाबाट अध्यापन गरिने गरी मगर भाषाको पाठ्यपुस्तक तयार भएको छ’, घर्तीले भने,‘परीक्षणका लागि यो शैक्षिकसत्रमा कक्षा १ मा मात्रै लागु गर्नेछौँ, मगर भाषाको लिपि नभए पनि बोलीचालीको भाषालाई संरक्षणमा सहयोग पुग्नेछ, नयाँ पिँढीले समेत मगर खाम भाषा बोल्न सक्नेछन् ।’

परम्परागत खाम भाषा बोल्ने भाषिक समुदायको अभाव हुँदा यो भाषा लोप हुँदै गएका कारण भाषा संरक्षण थालिएको हो ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ०९:४३
Weather Update