
कास्की— पोखरा महानगरपालिकाले महानगरअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत प्रध्यानाध्यापकहरूकाे सेवा सुविधामा वृद्धि गरेको छ ।
विद्यालयमा शिक्षा सुधारका लागि प्रोत्साहन स्वरूपमा प्रध्यानाध्यापकहरूको सुविधामा वृद्धि गरिएको महानगरले जनाएको छ ।
महाशाखा प्रमुख हेमप्रसाद आचार्यले महानगरले चालु शैक्षिकसत्रदेखि लागु हुने गरी सामुदायिक विद्यालयका प्रअहरूको सेवा सुविधा वृद्धि गरेको जानकारी दिए ।
विद्यालय शिक्षाको सुधारका लागि पोखरा महानगरपालिका प्रतिबद्ध रहेको बताउँदै उनले देशमै पहिलोपटक प्रधानाध्यापकहरूको सेवा सुविधा वृद्धि गरी हौसला प्रदान गरेको उल्लेख गरे ।
प्राथमिक तहमा दुई हजार, आधारभूतमा तीन हजार र माध्यमिक तहका प्रअको पाँच हजार रुपैयाँ सुविधा थप गरिएको महानगरले जनाएको छ ।
प्रध्यानाध्यापकहरूले पाँचवर्षे विद्यालय सुधार योजना, एकवर्षे शिक्षक शिक्षण सुधार योजना र एकवर्षे विद्यार्थी सिकाइ सुधार योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्नेछ ।













