
काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा कानुनबमोजिम गरिने अनुसन्धानलाई सहयोग गर्ने भएको छ ।
मंगलबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले उक्त प्रकरणमा कानुनअनुसार हुने अनुसन्धानलाई सघाउने निर्णय गरेको एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
नक्कली भुटानी शरणार्थी खडा गरी मोटो रकम भ्रष्टाचार गरेको प्रकरणमा पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि एमालेले कानुनबमोजिम हुने अनुसन्धानलाई सहयोग गर्ने निर्णय गरेको हो ।
नेता गुरुङले कानुनको परिपालन गर्ने कुरामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गर्ने बताए । उनले उक्त घटनामा मुछिएका पार्टी सचिव रायमाझीले अनुसन्धानलाई सघाउनुपर्ने निर्णय समेत गरेको बताए ।
'अनुसन्धानको क्रममा हाम्रो सचिव टोपबहादुर रायमाझीको नाम आएको छ । त्यसमा विधिपूर्वक अनुसन्धान गर्ने प्रक्रियालाई सघाउने बैठकले निर्णय गरेको छ । विधिको शासन, कानुनी शासन मान्ने पार्टीले, विधिपूर्वक, कानुनपूर्वक भए गरेका कुरामा हामी सहयोग गर्छौ', प्रमुख गुरुङले भने ।
केन्द्रीय बैठकका लागि १० वटा एजेन्डा तय
एमाले बैठकले आगामी केन्द्रीय कमिटीको बैठकका लागि १० वटा एजेन्डा समेत तय गरेको छ । २८ वैशाखबाट सुरु हुने बैठकका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले पछिल्ला राजनीतिक घटनाक्रम समेटेर तयार पारेको राजनीतिक प्रतिवेदन पेस गर्ने, केन्द्रीय कमिटीको चौथो बैठकपछि भए गरेका विभिन्न निर्णयहरूको अनुमोदन गर्ने, पार्टीका अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्षहरूले तयार पारेको छोटो प्रतिवेदन पेस गर्ने एजेन्डा तय गरिएको छ ।
त्यसैगरी एमालेले भर्खरै सम्पन्न गरेको मिसन ग्रासरुट अभियानको समीक्षा गर्ने एजेन्डा तय गरेको एमाले उपमहासचिव गुरुङले बताए ।
उनका अनुसार बैठकमा उक्त अभियानका क्रममा सात भौगोलिक र दुई गैर भौगोलिक गरी नौ वटा प्रदेशमा खटिएका सचिवहरूले प्रतिवेदन पेस गर्ने, सचिव नभएको ठाउँमा त्यहाँका इन्चार्जहरूले प्रतिवेदन पेस गर्ने, प्रदेशहरूले वार्षिक कार्य योजना तय गर्ने एजेन्डा तय भएको नेता गुरुङले बताए । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा समेत छलफल हुने उनले जानकारी दिए ।













