
काठमाडौं— नेपाल शिक्षक महासंघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मंगलबार ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघका अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदीलगायतले प्रधानमन्त्री दाहाललाई शिक्षा क्षेत्रका विविध समस्या समाधानका विषयमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
महासंघले आर्थिक वर्ष २०८०/८१ मा कुल बजेटको २० प्रतिशत रकम शिक्षामा लगानी गर्न माग गर्दै शिक्षक र विद्यालय कर्मचारीका मागमुद्दा बजेटले सम्बोधन गर्नुपर्ने बताएको छ ।
महासंघले शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच भएको ५१ बुँदे सहमतिको कार्यान्वयनले सबै खाले शिक्षक र विद्यालय कर्मचारीका सबै मुख्य समस्याको सम्बोधन गर्ने जानकारी गराउँदै कार्यन्वयनका लागि जोड दिएको छ ।
विद्यालयमा कर्मचारीको दरबन्दी सिर्जना गरी विद्यालय कर्मचारीलाई दरबन्दी अनुसारको तलबभत्ता उपलब्ध गराउन, प्रारम्भिक बालविकास शिक्षकलाई प्राथमिक तृतीय सरह तलबभत्ता उपलब्ध गराउन, शिक्षकको तलबमान सार्वजनिक गर्दा प्राविधिक ग्रेडको महलसमेत उल्लेख गरी नियम अनुसार शिक्षकलाई प्राविधिक ग्रेड उपलब्ध गराउन माग गरेको छ ।















