काठमाडौं — नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार संसद भवनस्थित ल्होत्से हलमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नेपालको संविधानको धारा १०० को (२) बमोजिम नेपाली कांग्रेस प्रधानमन्त्रीले प्रस्तुत गर्ने विश्वासको मतको प्रस्तावको पक्षमा रहने स्पष्ट पारे ।
उनले आफ्ना सांसदहरुलाई पनि पार्टीको संसदीय दलको निर्णयको पालना गर्न ह्वीप जारी गर्ने बताए । प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले विश्वासको मत लिइसकेपछि मात्रै कांग्रेस सरकारमा सहभागी हुने बताए ।
बैठकले राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादवलाई बधाई ज्ञापनका साथै सफल कार्यकालको शुभकामना ज्ञापन गर्ने निर्णय गरेको छ













