News Griha :: न्यूजगृह
कुर्सी मोहले एकै विद्यालयमा ‘दुई प्रधानाध्यापक’ !

धनगढी— बझाङको बित्थडचिर गाउँपालिका–९ सुनकुडा माध्यमिक विद्यालयका प्राधानाध्यापक धनबहादुर बिष्टको कार्यकाल सकिएपछि गत २६ माघमा शिक्षक योगेन्द्र धामी प्रधानाध्यापक (प्रअ) नियुक्त भए । उनलाई विद्यालय व्यवस्थापन समितिले सर्वसम्मत प्रअ सिफारिस गरेपछि शिक्षा समन्वय इकाइ कार्यालय बझाङले प्रअ नियुक्त गर्‍यो । 

माध्यामिक तह तृतीय श्रेणीमा कार्यरत शिक्षक धामी सुनकुडा माविमा पहिलो तहका शिक्षक हुन् । विद्यालयमा कार्यरत सबै शिक्षकहरूको सहमतिमा प्रअ भएका धामीलाई बित्थडचिर गाउँपालिकाले प्रक्रिया नपुगेको भन्दै अख्तियारी दिन अस्वीकार गर्‍यो । सुनकुडा माविका शिक्षकका अनुसार आफू अनुकूलको शिक्षकलाई प्रअ बनाउने पक्षमा रहेका जनप्रतिनिधिहरूले शिक्षक धामीलाई प्रअको अनुमति दिन विभिन्न बहाना बनाएर रोक्दै आए । 

विद्यालयको सबै कामकाज प्रभावित बनेको भन्दै चौतर्फी आलोचना खेप्नुपरेपछि गत २० चैतमा बित्थडचिर गाउँ कार्यपालिका बैठकले उक्त विद्यालयमा प्रअ नियुक्तिको लागि नयाँ पक्रिया थाल्ने निर्णय गर्‍यो । 

Prabhu Bank

कार्यपालिकाको उक्त निर्णयअनुसार गाउँपालिकाका प्रवक्ता हरिचन्द्र जोशीको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गर्ने र उक्त समितिले धामीको प्रअ नियुक्ति खारेज गरेर नयाँ प्रअ नियुक्त गर्ने पक्रिया अगाडि बढायो । 

शिक्षक धामीलाई हटाएर नमुना विद्यालयमा प्रअ हुन ५५ वर्ष उमेर हद पार गरेका मदन बमलाई नियुक्त गर्ने प्रवक्ता जोशीले ठाडो निर्णय गरे । तर, शिक्षक बमले प्राधानाध्यापक पदमा बसेर काम गर्न नसक्ने भन्दै प्रेम काँडालाई निमित्त प्रअ दिएर आफू बिदामा बसे । 

उता योगेन्द्र धामी आफू प्रअ भएको भन्दै नियमित कामकाज आफैँले गर्दै आए । उनले जनप्रतिनिधिले आफ्नो स्वार्थको लागि राजनीतिक वर्चस्व विद्यालयमा देखाएको भन्दै उच्च अदालतमा मुद्दा दायर गरे । उनको मुद्दाको पेसी पनि लगत्तै भएकाले उनले जयराज अवस्थीलाई निमित्त प्रअमा नियुक्त गरे । मुद्दा मामिला लडिरहनु पर्ने भन्दै धामीले आफू अनुकूलको शिक्षक जयराज अवस्थीलाई निमित्त दिए । योसँगै राजनीतिक खिचातानीका कारण एउटा नमुना विद्यालयमा दुई प्रअ र दुई निमित्त प्रअ छन् ।

शिक्षक कुर्सीको लडाइँमा, बाधा विद्यार्थीको पढाइमा 

शिक्षकको राजनीतिक स्वार्थ र कुर्सीको लडाइँले विद्यार्थीको पढाइमा बाधा पुगेको छ । सोही झगडाले विद्यार्थी भर्ना प्रक्रिया सुरु हुन सकेको छैन । विद्यालयको खाता सञ्चालन नहुँदा विद्यालयको कामकाज र शिक्षकको तलब रोकिएको छ । विद्यालयको खाता सञ्चालन नभएपछि शिक्षकहरूले चार महिनादेखि तलब पाउन सकेका छैनन् भने अन्य कामकाजसमेत ठप्प भएका छन् ।

व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय इकाइको निर्णयलाई लत्याएर बित्थडचिर गाउँपालिकाले भने प्रअलाई विद्यालयको खाता सञ्चालनको अनुमति दिन आनाकानी गरिरहेको छ । प्रअ नियुक्ति प्रक्रिया नमिलेको भन्दै खाता सञ्चालनको लागि अनुमति रोकेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रवक्ता जोशीले विद्यालयमा प्रअ नियुक्ति पक्रिया नपुगेकोले खाता सञ्चालनको अनुमति रोकेको स्वीकार गरे । उनले भने, ‘प्रअ नियुक्तिका लागि विद्यालय व्यवस्थापन समितिले आवेदन खोल्नु पर्छ, शिक्षकहरूबाट आएको आवेदनका आधारमा योग्यता पुगेको व्यक्ति प्रअ नियुक्त हुनुपर्ने हो, तर, त्यहाँ त्यसो गरिएन र समितिले ठाडो सिफारिस गरेर प्रअ नियुक्ति गरियो, त्यसैले पालिकाले अनुमति रोकेको हो ।’ 

प्रवक्ता जोशीले आफू व्यवस्थापन समितिको पदेन सदस्यसमेत भएको र आफूलाई समेत प्रअ नियुक्ति पक्रिया जानकारी नगराएको बताए ।

यता, शिक्षक धामीले आफूलाई विद्यालय व्यवस्थापन समितिले प्रक्रियागत रूपमा नै प्रअ नियुक्त गरेको दाबी गरे । उनले भने, ‘समितिले प्रक्रियागत रूपमा सिफारिस गरेर शिक्षा विकास तथा समन्वय इकाइले प्रअ नियुक्त गरेको हो, सोही आधारमा अहिले सबै कामकाज गरिरहेको छु ।’ उनले थपे, ‘जिल्ला प्रशासन र शिक्षा इकाइको अनुमतिमा आठ कक्षाको परीक्षा र १० कक्षाको परीक्षा केन्द्राध्यक्षको रूपमा सञ्चालन गरिरहेको छु तर, गाउँपालिकाले भने राजनीतिक पूर्वाग्रह राखेर मलाई अनुमति दिन आनाकानी गरिरहेको छ ।’

उनले विद्यालयमा आफूभन्दा सिनियर शिक्षक मदन बम रहेको र उनले प्रअको जिम्मेवारी सम्हाल्न आफूलाई आग्रह गरेपछि समितिले आफूलाई सिफारिस गरेको बताए । धामीले गाउँपालिका जनप्रतिनिधिहरूले आफू अनुकूलको शिक्षकलाई प्रअ बनाउने उद्देश्यले अनुमति दिन आनाकानी गरिरहेको बताए ।

यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश अधिकारीले प्रअ नियुक्ति प्रक्रियामा कुनै विवाद नरहेकोले विद्यालयको खाता सञ्चालनको लागि पालिकाले अनुमति दिनुपर्ने बताए । उनले सबै पक्रियाहरू पुर्‍याएर नियुक्त सिफारिस गरिएको बताए ।

उनले भने, ‘समितिले निर्णय गर्ने क्रममा कसले दाबी विरोध नगरेकाले सर्वसम्मत प्रअ सिफारिस गरिएको हो, कसले दाबी विरोध गरेको भए आवेदन माग गर्ने तथा परीक्षा लिने हुन्छ तर, एकल उम्मेदवारी भएपछि सर्वसम्मत सिफारिस गरिएको हो ।’ उनले पक्रिया पुगेकै कारण शिक्षा विकास तथा समन्वय इकाइले नियुक्ति पत्र प्रदान गरेको समेत प्रष्ट पारे । अधिकारीले गाउँपालिकाले त्यसरी रोक्न नपाइने समेत बताए ।

गाउँपालिका शिक्षा शाखा प्रमुख नरेन्द्रबहादुर धामीले भने दुवैजना प्रक्रियागत रूपमा अयोग्य भएको बताएका छन् । उनले धामी भन्दा पाको भएकाले बमलाई नियुक्त गरेको बताए । उनले भने, ‘पर्सि अदालतमा पेसी छ त्यसपछि नै के हुन्छ भन्ने थाहा हुन्छ, अहिले के कस्तो हो भनेर भन्न सक्ने अवस्थामा छैन ।’

हाल धामी उच्च अदालतमा मुद्दा लड्दै छन् भने बम बिरामी भएर बिदामा बसेका छन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १५:५२
राजनीति
विशेष
Weather Update