News Griha :: न्यूजगृह
खेलमा भारत र पाकिस्तानबीचको टकराबको फाइदा नेपालले लिन सक्छ : खिमलाल देवकोटा

काठमाडौं— राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नेपालको इज्जत र सम्मान बढाउने क्रिकेट खेलाडीहरूलाई सरकारले झारो टार्ने काम नगर्न आग्रह गरेका छन् ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले अहिले नेपालले क्रिकेटमा उत्कृष्ट खेल प्रदर्शन गरेको कुरालाई मध्यनजर गरी त्यही अनुसार खेल पूर्वाधारको विकास गर्नुपर्ने बताए । उनले खेलाडीहरूको उचित सम्मान र पुरस्कृत गर्नुपर्ने समेत बताए ।

उनले भने, 'अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणमा विशेष ध्यान दिइयोस्, भारत र पाकिस्तान लगायतका देशहरू बीचको टकराबको फाइदा नेपालले लिन सक्ने गरी खेल पूर्वाधारमा नेपालमा लगानी बढाइ अन्तर्राष्ट्रिय खेलहरूको हबको रुपमा नेपाललाई अघि बढाइयोस् । भारत र पाकिस्तान बीचको खेल नेपालमा खेलाउन सक्छौँ भन्ने प्रतिबद्धताका साथ सरकार अघि बढोस् ।'

राष्ट्रको लागि योगदान दिएको नाममा जो जस्ता पनि पुरस्कृत र सम्मान गर्ने चलन बढेको गुनासो आइरहेको भन्दै त्यस्तो प्रवृत्ति भए हटाउन आग्रह समेत गरे । उनले भने, 'अहिले नेपालले क्रिकेटमा उत्कृष्ट खेल प्रदर्शन गरेको छ । नेपालको इज्जत र सम्मानलाई सगरमाथा भन्दा पनि माथि लगेको छ । त्यो उचाइमा नेपालको सम्मान पुर्‍याउने खेलाडीलाई सरकारले झारो टार्नु भन्दा पनि उचित सम्मान र पुरस्कृत गरोस्, राष्ट्रको लागि योगदान दिएको नाममा जो जस्ता पनि पुरस्कृत र सम्मान गर्ने चलन छ भन्ने गुनासो छ, त्यो हो भने हटाइयोस् ।'

देवकोटाले खेल पूर्वाधारमा नेपालमा लगानी बढाइ अन्तर्राष्ट्रिय खेलहरूको हबको रुपमा नेपाललाई स्थापित गर्न आग्रह समेत गरे ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १२:१५
Weather Update