News Griha :: न्यूजगृह
कक्षा १२ को वार्षिक परीक्षा सुरु

काठमाडाैं— कक्षा १२ को वार्षिक परीक्षा मंगलबार सुरु भएको छ । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धिका लागि परीक्षामा सामेल भएका छन् । यसका लागि एक हजार चार सय ५३ परीक्षा केन्द्र तोकिएका छन् भने परीक्षा आगामी ५ जेठसम्म सञ्चलन हुनेछ ।

बिहान ८ बजेबाट सुरु भएको परीक्षा दिउँसो १२ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार कक्षा १२ को वार्षिक परीक्षाका लागि सुरक्षाकर्मी, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक निरीक्षक, सहयोगी र अन्य कर्मचारीसमेत गरी कुल ५० हजार जनशक्ति परिचालन भएका छन् ।

परीक्षामा गत वर्ष तीन विषयमा एनजी आएका करिब ५६ हजार विद्यार्थीले परीक्षा दिने भएका छन् । उनीहरूले जति विषयमा कम नम्बर आएका थियो त्यत्तिकै विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ ।

यसभन्दा अघि दुई वा दुईभन्दा कम विषयमा मात्र एनजी आउँदा ती विषयमा सोही वर्षमात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने र दुईभन्दा बढी विषयमा एनजी ल्याएको अवस्थामा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यात्मक व्यवस्था थियो । परीक्षाका लागि कुल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले फारम भरेको बोर्डले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  ०९:१३
Weather Update