News Griha :: न्यूजगृह
कक्षा १२ को परीक्षा आजदेखि, ४ लाख बढी विद्यार्थीले परीक्षा दिँदै

काठमाडौं—  कक्षा १२ को परीक्षा मंगलबारदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार यस वर्षको वार्षिक परीक्षामा देशभरबाट कूल ४ लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिँदैछन् ।

बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार परीक्षाका लागि देशभर एक हजार ४ सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । उनले परीक्षाका लागि केन्द्राध्यक्ष, सह–केन्द्राध्यक्ष, निरीक्षक र सहायक नियुक्त गरी परीक्षाका लागि परिचालन गरिएको जानकारी दिए ।

‘परीक्षाका लागि आवश्यक सामग्री जिल्ला जिल्लामा पुर्‍याइएको छ’, शर्माले भने । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने भएका छन् । उनीहरूले जति विषयमा कम नम्बर आएको थियो सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ ।

तीन वा सोभन्दा बढी विषयमा ‘नन ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै छ विषयकै परीक्षा फारम भरिए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेसँगै अब नन ग्रेडेड ल्याएका विषयको मात्रै परीक्षा दिए पुग्ने भएको छ ।

बोर्डले लागु गरेको लेटर ग्रेडिङ प्रणालीअनुसार दुईभन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । यसो गर्दा गत वर्ष भएको ग्रेड वृद्धि परीक्षामा विद्यार्थीको सहभागिता घटेर ड्रप आउट हुने सम्भावना भएपछि मन्त्रालयले निर्देशिका संशोधन गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  ०६:२७
Weather Update