News Griha :: न्यूजगृह
विधायन समिति सभापति राईद्वारा शपथ तथा पदभार ग्रहण

काठमाडौं— राष्ट्रियसभा विधायन व्यवस्थापन समितिका नवनिर्वाचित सभापति जयन्तीदेवी राईले पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।

सिंहदरबारस्थित संसद् भवनमा सोमबार आयोजित कार्यक्रममा सभापति राईलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथग्रहण गराएका हुन् । उनी नेकपा (एकीकृत समाजवादी) का तर्फबाट राष्ट्रिय सभा सदस्य हुन् ।

नवनिर्वाचित सभापति राईले आजै पद बहाली समेत गरेकी छिन् । पद बहालीपछि कुराकानी गर्दै उनले राष्ट्र र जनताका पक्षमा सक्रियतापूर्वक कानुन निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।

jayanti-rai-savapati-sapath1683545943.jpg

उनले भने, 'समितिमा प्रवेश पाएका विधेयकलाई समृद्ध तुल्याएर यथाशक्य छिटो निष्कर्षमा पुर्‍याइनेछ, समितिका सबै सदस्यले एक मन र मतले सक्रियतापूर्वक खटेर प्राप्त जिम्मेवारीलाई पूरा गर्नेमा मेरो पूर्ण विश्वास छ ।'

समितिमा राष्ट्रिय मर्यादाक्रम निर्धारण, नेपाल विश्वविद्यालय, कोभिड–१९ सङ्कट व्यवस्थापनलगायत विधेयक छन् । यसअघि उक्त समितिका सभापतिका रुपमा परशुराम मेघी गुरुङ र डा वेदुराम भुसालले काम गरेका थिए । डा भुसाल वर्तमान मन्त्रिपरिषद्मा सहभागी हुनुभएसँगै सभापति पद रिक्त थियो ।

उक्त समितिको सभापतिमा राईको चयनसँगै राष्ट्रियसभा मातहतका चारमध्ये दुई समितिमा महिलाको नेतृत्व हुन पुगेको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी थापा सभापति छिन् ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १६:५५
Weather Update