News Griha :: न्यूजगृह
कोशी प्रदेशको पुनः नामकरणको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं— कोशी प्रदेशको पुनः नामकरणको माग गर्दै विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ । कोशी प्रदेश नाम खारेजी र पुनः नामकरणको माग गर्दै आन्दोलित भइरहेको प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको हो । 

आन्दोलनको कार्यक्रमहरूमा कोशी नाममा हस्ताक्षर गर्ने सांसदहरू र दलका शीर्ष नेताहरूका विरुद्धमा विरोध जारी रहेको भूमिमा उनीहरूलाई बहिष्कार गर्ने उल्लेख गरिएको छ । त्यस्तै २६ वैशाखमा झापाको दमकमा साङ्केतिक राँके जुलुस प्रदर्शन गरिने, २८ वैशाखदेखि प्रदेश सभाका ८२ जना सांसद र उनीहरूका शीर्ष नेता हिँड्ने बाटो, बस्ने होटल, खाने स्थानदेखि उनीहरू सहभागी हुने कार्यक्रम तथा बैठक स्थलहरूमा विरोधको कार्यक्रम गरिने किराँत राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले बताए । 

नेताहरूलाई होटलमा बस्न र कार्यक्रम गर्न हल नदिनका लागि सम्बन्धित पक्षहरूलाई अनुरोध गर्ने समेत उनले जानकारी दिए । त्यस्तै, २८ वैशाखदेखि जिल्लाहरूमा आमसभा, सङ्घर्ष समिति बिस्तार, तालाबन्दी, कोशी नाम हटाउने, जलाउने, मेट्ने, कालो झण्डा रोप्ने र ८२ जना सांसदलाई बहिष्कार कार्यक्रम जारी राख्ने बताइएको छ ।
आन्दोलनका अन्य कार्यक्रमहरूमा २ जेठदेखि ५ जेठसम्म कोशी प्रदेशका १४ वटै जिल्लाका मुख्य स्थानमा जनजागरण अभियानलाई तीव्रता दिने, जेठ दोस्रो हप्ता सङ्घर्ष समितिका केन्द्र, जिल्ला र स्थानीय निकायका सबै नेतृत्व पंक्तिको वृहत् भेला आयोजना गर्ने, आन्दोलनलाई व्यवस्थित गर्न ‘पहिचानका लागि युवा’ शक्ति निर्माण गर्ने र प्रदेश सभा केन्द्रित विशाल जनप्रदर्शनको तयारी गर्ने अध्यक्ष राईले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १५:५६
Weather Update