
काठमाडौं— नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले आगामी आर्थिक वर्षको बजेटको मुख्य उद्देश्य उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा विनियोजित विधेयक २०८० सिद्धान्त र प्राथमिकता छलफलमा बोल्दै उनले यस्तो बताए । उनले सरकारले आन्तरिक उत्पादन र रोजगारीलाई सबल नबनाई दिगो आर्थिक विकासको आधार तयार हुन नसक्ने बताए ।
स्रोतमा आएको संकुचनका कारणले सरकारलाई हौसिएर बजेट बनाउने सुविधा नभएको समेत उनले बताए । सांसद कार्कीले अर्थतन्त्रमा देखिएका समस्या र चुनौती रहेको अवस्थामा लोकप्रिय नभएर यथार्थपरक बजेट मुलुकलाई आवश्यकता रहेको बताए ।
उनले अर्थमन्त्री डा.प्रकाशशरण महतले विनियोजित विधेयक २०८० सिद्धान्त र प्राथमिकतामा आर्थिक वृद्धिदर हासिल गर्ने, बेरोजगारलाई स्वरोजगार बनाउने र अर्थतन्त्रलाई सबल बनाउने विषयको समर्थन गरे ।
'सरकारले आन्तरिक उत्पादन र रोजगारीलाई सबल नबनाई दिगो आर्थिक विकासको आधार तयार हुँदैन । आगामी आर्थिक वर्षको बजेटको मुख्य उद्देश्य उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित रहनुपर्छ । स्रोतमा आएको संकुचनका कारणले सरकारलाई हौसिएर बजेट बनाउने सुविधा छैन', उनले भने, 'अहिलेको अवस्थामा पपुलिष्ट होइन । यथार्थपरक बजेट मुलुकलाई आवश्यकता छ । यो पृष्ठभूमिमा सरकारको तर्फबाट अर्थमन्त्री डा.प्रकाशशरण महतले विनियोजित विधेयक २०८० सिद्धान्त र प्राथमिकतामा आर्थिक वृद्धिदर हासिल गर्ने, बेरोजगारलाई स्वरोजगार बनाउने र अर्थतन्त्रलाई सबल बनाउने प्रतिबद्धता जनाउनुभएको छ । त्यसको स्वागत गर्न चाहन्छु । समर्थन गर्न चाहन्छु । हाम्रो मुलुक विकासको फड्को मार्ने अत्यन्तै सम्भावना भएको मुलुक हो । तर त्यस अनुसार सरकारले मुलुकलाई अगाडि बढाउन नसकेको यथार्थता हो । २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य भएर बहुदलीय सरकार स्थापना हुँदै गर्दा त्यसबेला प्रतिव्यक्ति एक सय ८० डलर नेपालीहरूको आय थियो । सन् २०२१ सम्ममा त्यो आय १२ सय डलर पुगेको छ । यो गति सुस्त छ ।'
उनले नेपाल विकासको फड्को मार्ने सम्भावना भएको मुलुक भए पनि सरकारले सो अनुसार अगाडि बढाउन नसकेको बताए । उनले २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य भएर बहुदलीय सरकार स्थापना हुँदै गर्दा प्रतिव्यक्ति एक सय ८० डलर नेपालीहरूको आय सन् २०२१ सम्ममा त्यो आय १२ सय डलर पुगेको भन्दै यो गति सुस्त भएको बताए ।













