सांसद सिंहको स्वास्थ्य जाँच गर्न एमाले सांसदको माग

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहको स्वास्थ्य जाँच गर्न माग गरेका छन् ।
सोमबारको संसद् बैठकको सुरुमै सभामुख देवराज घिमिरेले बोल्न समय नदिएको भन्दै स्वतन्त्र सांसद सिंह संसद्मै अर्धनग्न भएका थिए । सभामुखको विरोध गर्दै सांसद सिंहले आफ्नो कोट, कमिज र गञ्जी खोलेर अर्धनग्न भएका थिए । सांसद सिंह अर्धनग्न भएपछि बैठकमा केहीबेर हंगामा भएको थियो ।
त्यसपश्चात् संसद् बैठकको आकस्मिक समयमा बोल्दै एमालेका सांसद अच्युतप्रसाद मैनालीले संसद्मा अर्धनग्न भएका सांसद सिंहको स्वास्थ्य जाँच गर्न माग गरेका हुन् । उनले भने, 'सभामुख महोदय संसद्मा जे गतिविधि देखा परेको छ । म मान्य सदस्यको स्वास्थ्य जाँचको माग गर्दछु ।'
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८० १२:१५













