काठमाडौं— प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंह नाङ्गिएका छन् । बैठकको सुरुमै सांसद सिंहले कमिज र गञ्जी खोलेपछि संसद्मा हंगामा भएको थियो ।
सभामुख देवराज घिमिरेले बोल्नका लागि समय नदिएको भन्दै उनले कपडा खोलेका हुन् । सांसद सिंहले आकस्मिक समय बोल्नका लागि समय माग गरेका थिए । तर, बोल्न समय नपाएपछि उनले विरोध स्वरूप लगाइराखेको सर्ट र गञ्जी खोलेका हुन् ।
बैठकमा सांसद अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरेका छन् । यसअघि आइतबार बसेको बैठकमा पनि सांसद सिंहले सुरुमै उठेर बोल्न खोजेका थिए ।
'नियमावलीको नियम २१ को खण्ड 'घ' आकर्षित गर्न चाहन्छु । तपाईं अशिष्ट, अश्लील, अपमानजनक र आपत्तिजनक व्यवहारहरू नदेखाउनुस् । त्यस्तो अभिव्यक्ति नगर्नुस् । मान्य सदस्य अमरेशकुमार सिंह तपाईंले जुन व्यवहारहरू देखाइरहनुभएको छ, त्यसले गर्दा म हाम्रो नियम ३० को आधारमा म चेतावनी दिन चाहन्छु । तपाईं ठिक ढंगबाट बस्नुस्', सभामुख घिमिरेले भने 'तपाईंलाई म चेतावनी दिन चाहन्छु। तपाईं यो अशिष्ट व्यवहारबाट फर्केर आएर बस्नुस् । मान्य सदस्य म बैठकमा तपाईं शिष्ट व्यवहार देखाउनुस् । तपाईं असभ्य व्यवहार नगर्नुस् । तपाईंलाई म चेतावनी दिन्छु । तपाईं फर्किनुहोस् । आफ्नो सभ्यताका साथ आफ्नो कुराहरू नियमअनुसार राख्ने कुरामा लाग्नुस् । म तपाईंलाई हाम्रो नियमावलीको नियम ३० अन्तर्गत बैठकमा यस्तो खालको व्यवहार नदेखाउनका लागि चेतावनी दिइसकेको छु । तपाईं ठाउँमा आएर बसेर अनुशासित हुनुभएन भने तपाईंमाथि थप अन्य कुराहरू हुने कुराको जानकारी गराउन चाहन्छु ।'
सिंहले कपडा उतार्न थालेपछि सभामुख घिमिरेले स्थिति साम्य पार्न केही समय हम्मे हम्मे परेको थियो । सिंहले संसद् बैठक चलिरहेकै अवस्थामा कपडा खोलेपछि बैठकमा उपस्थित अन्य सांसदहरूले उठेर विरोध समेत जनाएका थिए ।