
काठमाडौं— नेपाली कांग्रेसका राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझीले दिएको अभिव्यक्तिप्रति विपक्षी नेकपा एमालेले नियमापत्ति जनाएको छ ।
सोमबारको राष्ट्रिय सभा बैठकमा सुरुमै एमालेले नियमापत्ति जनाएको हो । आइतबार बसेको बैठकमा सांसद रायमाझीले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै एमालेले नियमापत्ति जनाएको हो ।
आइतबार रायमाझीले एमाले सचिव टोपबहादुर रायमाझीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको झट्केलो छोरो भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर एमालेले नियम आपत्ति जनाएको हो । बैठकमा राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले रमेशजंग रायमाझीले दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरे ।
उनले यस्ता शब्दहरूले संसद् र सांसद स्वयंको पनि गरिमा घट्ने समेत बताए । उनले भने, 'माननीय रमेशजंग रायमाझीले जुन खालको अभिव्यक्ति दिनुभएको छ, हिजो आफ्ना अभिव्यक्ति राख्ने क्रममा छ । त्यसमा नेकपा एमालेको नियमापत्ति छ । हामीले हिजो नियमापत्ति जनाउने सोचे पनि पहिलो दिनको बैठक भएकाले गरेनौँ । उहाँले हिजो पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमाले पार्टी सचिव टोपबहादुर रायमाझीलाई झट्केलो छोरो भन्नुभएको छ, यो शब्दप्रति हाम्रो नियमापत्ति छ ।'
संविधानको धारा २६९ ले समान विचार भएका र सिद्धान्त भएकाहरूको बीचमा संगठन निर्माण गर्न सकिने भनिएको भन्दै सांसद श्रेष्ठले संविधानको धारा ११७ मा मौलिक हकको व्यवस्था गरिएको स्मरण समेत गराए ।
उनले भने, 'व्यक्तिको व्यक्तिगत स्वतन्त्रतालाई हनन गरिने छैन भन्ने कुरा गरिएको छ । जड्खेलो छोरोको शब्द जुन राखियो, यो शब्दले हाम्रो सम्पूर्ण गरिमा सांसदको गरिमा घट्छ की बढ्छ ? हिजो उहाँले बोलेको उक्त शब्द रेकर्डबाट हटाउन माग गर्दछु ।'
एमालेको नियमापत्तिसँगै अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अडिओ सुनेर नियम विरुद्धमा रहेको भए मंगलबारको बैठकमा जानकारी गराउने प्रतिबद्धता जनाए ।













