News Griha :: न्यूजगृह
भारतको केरलामा डुंगा पल्टिँदा २० जनाको मृत्यु

नयाँ दिल्ली— आइतबार साँझ केरलाको मलाप्पुरममा समुद्र तटमा करिब ३० यात्रु बोकेको एउटा हाउसबोट पल्टिँदा २० जनाको ज्यान गएको छ । सो दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई दुई–दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

उक्त घटनाबारेमा भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गर्दै भनेका छन्,‘केरलाको मलाप्पुरममा भएको डुंगा दुर्घटनामा परी ज्यान गुमाएकोमा म दुखित छु । शोक सन्तप्त परिवारजनमा समवेदना । प्रत्येक मृतकका आफन्तलाई दुई लाख रुपैयाँ प्रदान गरिनेछ ।’

केरलाका पर्यटनमन्त्री पीए मोहम्मद रियासले पनि उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन् । घटनाको जानकारी पाएपछि उनले यस दुर्घटनामा ज्यान गुमाउनेमा विशेषगरी बालबालिका रहेको बताए । प्राप्त जानकारी अनुसार विद्यालय बिदामा बसेका बालबालिकाहरू हाउसबोटमा सवार भइरहेको बेला उक्त घटना भएको हो ।

घटनाको बारेमा एक वरिष्ठ प्रहरी अधिकारीले भने, ‘दुर्घटना साँझ करिब सात बजे भएको थियो । अहिलेसम्म पानीबाट निकालिएका मानिसहरूलाई नजिकैको निजी र सरकारी अस्पतालमा भर्ना गरिएको थियो । दुर्घटनाको कारण अहिले नै थाहा हुन हुन सकेको छैन । हामी सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेका छौं ।’

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  ०८:१६
Weather Update