
काठमाडौं— सोमबार संवैधानिक परिषद्को बैठक बस्दैछ । प्रधानन्यायाधीश नियुक्तिलगायतको विषयमा छलफल गर्नका लागि सोमबार संवैधानिक परिषद्को बैठक बस्न लागेको हो । बैठक साँझ ६ बजेका लागि तय गरिएको छ ।
उपसभामुख इन्दीरा राना मगरका अनुसार गत बैठकको निरन्तरताको स्वरुप सोमबारका लागि बैठक बोलाइएको हो । उनका अनुसार नयाँ थप कार्यसूची उल्लेख छैन ।
संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको पहिलो अधिवेशनका अन्तिम समयमा संवैधानिक परिषद्सम्बन्धी (संशोधन) विधेयक पेश गर्ने सहमति भए पनि अन्तिम समयमा रोकिन पुगेको थियो । संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्रीलाई विशेषाधिकारसहित बुँदा थप गरेर विधेयक ल्याइएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको थियो ।
प्रमुख प्रतिपक्ष दल एमालेको आपत्तिपछि कार्यसूचीमा समावेश गरिसकेको सो विधेयक अन्तिममा फिर्ता लिइएको थियो । एमालेले संसदीय सुनवाइको पूर्णतापछि मात्रै सो विधेयक अघि बढाउनु पर्ने सर्त राख्दै आएको छ ।













