News Griha :: न्यूजगृह
संसदमा देखिएको फरक परिदृश्य

काठमाडौं— सङ्घीय संसद्को आइतबार अपराह्नदेखि सुरु भएको वर्षे अधिवेशनको बैठकको पहिलो दिन बेग्लै परिदृश्य देखियो । निर्धारित समय ४ बजेभन्दा १५ मिनेट ढिला गरी सुरु भएको बैठकको सुरुमै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आकस्मिक समय लिएर बोल्ने अनुमति मागे । लगत्तै स्वतन्त्र सांसद अमेरशकुमार सिंहले उभिएर केही भन्न खोज्दै थिए बीचमा नेकपा एमालेका सांसद रघुजी पन्तले पनि बोल्नका लागि सभामुखतिर इसारा गरे ।

बोल्न चाहने सांसदको सङ्ख्या बाक्लो भएपछि सभामुखले पटक–पटक बैठक सञ्चालनका लागि सहजीकरण गरिदिन सांसदहरुलाई आग्रह गरे ।

‘माननीय सदस्यहरू दोस्रो अधिवेशनको पहिलो बैठक सुरु भइरहेको छ, यसका केही नियम र पद्धतिहरू छन् यसलाई पूरा गरेपछि बोल्नुहोला, पहिलो बैठक औपचारिक सुरु हुन दिनूस् बाँकी के कसरी चलाउने हो सल्लाह गरेर गरुँला’, सभामुख घिमिरेले भने । सभामुखले उठेका सांसदलाई बसेर बैठक सुरु हुने वातावरण बनाउन अनुरोध गरे । तर, सभामुखको आग्रहलाई बेवास्ता गर्दै केही सांसदहरूले निरन्तर बोल्नका लागि उभिएर सङ्केत गरिरहे ।

‘संसद्को कारबाही सुरु गरेपछि आफ्नो कुरा राख्नुहोला म बोल्नका लागि समय निर्धारण गर्नेछु । यस्तो साङ्केतिक जुहारी करिब १० मिनेट चलेपछि सभामुखले बैठक प्रारम्भ भएको घोषणा गर्दै अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाए ।

त्यसपछि बैठकमा लोकतन्त्र र प्रजातन्त्र प्राप्तिका लागि जीवन अर्पण गर्ने ज्ञात अज्ञात शहीदहरूप्रति बैठकले १ मिनेट मौनधारण गरियो । बैठकमा पहिलो वक्ताका रूपमा सांसद प्रेम सुवालले भुटानी शरणार्थीका विषयमा दोषीलाई कानुनी दायरामा ल्याउनेदेखि नागरिकता र खोप्व इञ्जिनियरिङ कलेजको विषय उठाए ।

सांसद अमरेशकुमार सिंहले सर्वदलीय भ्रष्टाचार हुने गरेको आरोप लगाउँदै पछिल्लो भुटानी शरणार्थी प्रकरणमा दोषी ठहरिएका कसैलाई पनि उन्मुक्ति दिन नहुने जिकिर गरे । सबै भ्रष्टाचारको उच्चस्तरीय छानबिन समिति गठन गरेर दोषीलाई कानुनी दायरामा ल्याउन उनले माग गरे ।

एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले भ्रष्टाचारका सवालमा ‘यो टेलर मात्रै हो फिल्म देखाउन बाँकी नै छ’ भन्ने विषयको प्रसङ्ग उल्लेख गर्दै मुलुकमा भएका सबै किसिमका भ्रष्टाचार र अनियमितताप्रति आफ्नो पार्टी एकताबद्धका साथ दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ भन्ने पक्षमा रहेको बताए । ‘हामी फिल्म हेर्न टिकट काटेर बसेका छौँ फिल्म देखाउनूस् वाइडबडी, यतिलगायत सबै काण्डको छानबिन गरियोस्’, उनले भने ।

एमालेकै सचेतक महेशकुमार बर्तौलाले यतिबेला सिङ्गो देशको ध्यान नेपालीलाई भुटानी शरणार्थी बनाएर अर्बौं  घोटला गर्ने र दोषीलाई उम्काउने खेल भइरहेको भन्दै यस्ता घटनाको सत्यपक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे । एमाले सांसद सूर्य थापाले भ्रष्टाचारको फिल्म हेर्न आफू पनि तयार रहेको बताए । त्यसपछि सांसद बोलिसकेपछि पुनः सभामुखले सांसदलाई बस्न र नियम पालना गर्न अनुरोध गरे ।

जवाफमा सत्तारूढ नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिपक्षी दलका सांसदहरूले छापामार शैलीमा आफ्ना कुरा राखेको भन्दै प्रमुख प्रतिपक्ष साँच्चिकै भ्रष्टाचारीलाई कारबाही गर्न चाहेको हो भने इमान्दार हुन आग्रह गरे । उनले प्रधानमन्त्रीले राखेका कुरा खिसिटिउरी गरिरहनुले विषयलाई विषयान्तर गर्ने र खिसिटिउरी गरिरहेको भन्दै इमान्दारीपूर्वक रायामाझीलाई पक्राउ गर्न सहयोग गरेको खण्डमा काफी हुने उल्लेख गरे ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ‘नेपालको राजनीतिमा जो बढी बदमास त्यही बढी डकार्छ’ भन्दै भ्रष्टाचार र अनियमिततामा दोषी जोकोहीलाई संसदीय समिति बनाएर कारबाही गर्न माग गरे । एमाले सांसद रघुजी पन्तले आरोप–प्रत्यारोप चलेको भन्दै पार्टी संविधान र कानुनको पालनामा प्रतिबद्ध रहेको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले भ्रष्टाचारीलाई उम्कन दिन नहुने बताए ।

कांग्रेसका सांसद सुनील शर्मा भुटानी शरणार्थीका विषयमा पक्राउ परेकालाई संसद्मा ल्याएर बयान दिलाउन सभामुखको ध्यानाकर्षण गराए । सांसद सरिता प्रसाईं भ्रष्टाचारीलाई कुनै पनि पार्टीले संरक्षण गर्नु नहुने बताइन् । सांसद रञ्जुकुमारी झाले भ्रष्ट्राचारको मामिलामा सबै पार्टीले समान धारणा बनाएर दोषीलाई कानुनी दायरामा ल्याइनुपर्ने बताइन् ।

सांसद आरजु राणाले आफ्नो चरित्र हत्या गर्ने अभिप्रायले विभिन्न टीकाटिप्पणी भइरहेको बताइन् । सांसद मेटमणि चौधरीले तत्कालीन गृहसचिव, मन्त्री र उच्चपदस्थ अधिकारी भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको खुल्दै गएकाले यो कार्यमा संलग्न सरकार प्रमुखलाई समेत कारबाही गर्नुपर्ने माग गरे ।

सांसद दीपकबहादुर सिंहले सत्तापक्ष र प्रतिपक्षले भ्रष्टाचार र अनियमितताको विषयलाई प्रभावकारी ढङ्गले उठाउन नसकेको बताए । सांसदहरूले आकस्मिक समयमा समसामयिक विषयमा समधारणा राखिसकेपछि बैठक कार्यसूचीमा प्रवेश गरेको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  २१:१६
Weather Update