
काठमाडौं— नेकपा एमालेको संसदीय दलको बैठकले बजेट अधिवेशनमा पार्टीका सांसदहरूलाई प्रभावकारी रूपमा प्रस्तुत हुन निर्देशन दिएको छ ।
आइतबार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले बजेट अधिवेशनमा प्रभावकारी रूपमा प्रस्तुत हुन पार्टीका सांसदहरूलाई निर्देशन दिएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका सचिव योगेशकुमार भट्टराईले विषयवस्तु अध्ययन गरी तथ्य र प्रमाणका आधारमा बोल्न पनि सांसदहरूलाई आग्रह गरिएको बताए ।
उनले नेपाली जनताले भोगिरहेको समस्याहरू, बेरोजगारी, महंगीको समस्यामा प्रभावकारी रूपमा काम गर्ने र सशक्त प्रतिपक्षीको रूपमा संसदमा प्रस्तुत हुने निर्णय बैठकमा भएको बताए ।
उनले भने,‘संसदीय दलको बैठकले संसदमा हाम्रा दलका सम्पूर्ण साथीहरूलाई प्रभावकारी रूपमा प्रस्तुत हुने, विषयवस्तु अध्ययन गर्ने, तथ्य र प्रमाणका आधारमा बोल्ने र सरकारबाट आउने प्रस्तावहरू ठिक छन् छैनन् भन्ने कुराको अध्ययन गरी आवश्यकता अनुसार प्रतिवाद गर्ने, नेपाली जनताले भोगिरहेको समस्याहरू, बेरोजगारी, महंगीको समस्यामा प्रभावकारी रूपमा काम गर्ने र सशक्त प्रतिपक्षीको रूपमा संसदमा प्रस्तु हुने निर्णय भएको छ ।’













