News Griha :: न्यूजगृह
कांग्रेस सांसद रायमाझी भन्छन्– नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई जोगाउनु हुन्न

काठमाडौं— नेपाली कांग्रेसका सांसद उमेशजङ्ग रायमाझीले एउटै मान्छे पटक–पटक मन्त्री हुन खोज्ने प्रवृत्ति नक्कली भुटानी शरणार्थी प्रकरणले स्पष्ट गरेको बताएका छन् ।

राष्ट्रिय सभाको आइतबारदेखि सुरु भएको चौधौँ अधिवेशनको पहिलो बैठकमा भाग लिँदै उनले नक्कली भुटानी शरणार्थी प्रकरणले सबै नेपालीलाई कलङ्कित तुल्याएको बताए ।

उक्त गिरोहले केही वर्षअघि आफूसँग भेटेर गृहमन्त्रीलाई भेटाइदिन आग्रह गरेको घटना सुनाउँदै उनले नक्कली शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि छाड्न नहुने बताए ।

उनले भने,‘नक्कली शरणार्थीका प्रकरणमा कुनै नेतालाई बचाउने कार्यमा लाग्न हुन्न, यस्ता  कलङ्कलाई निस्तेज तुल्याउनुपर्छ ।’

त्यसबेला आफूले प्राप्त सूचनाअनुसार तीन हजारदेखि सात हजार व्यक्तिलाई अमेरिका पठाउने खेल भएको हल्ला रहेको उनले बैठकलाई जानकारी दिए ।

नेता रायमाझीले भने,‘वर्तमान सरकारले सुरु गरेका काम र अभियानले जनतामा आशाको किरण पलाएको छ, यो अधिवेशनमा नयाँ ऐन बनाउन सक्छ । देश र जनतालाई देश र जनताको भलो हुने कार्य गरेमा अर्को पटक जनताले प्रतिपक्षलाई राज्यको कार्यभार सुम्पन्छन् ।’

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १८:०४
Weather Update