सांसदको ई–हाजिरीको तयारी गर्न सभामुख घिमिरेले दिए निर्देशन

काठमाडौं— सभामुख देवराज घिमिरेले सांसदहको ई-हाजिरी (विद्युतीय हाजिरी)को व्यवस्था गर्न संघीय संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।
आइतबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा उनले ई–हाजिरीको तयारी गर्न र राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न संसद सचिवालयलाई निर्देशन दिएका हुन् ।
ई–हाजिरी सुरु गर्ने र सभाका सदस्यको उपस्थिति वेबसाइटमार्फत सार्वजनिक गर्नेबारे भएको छलफलमा सभामुख घिमिरेले संसद्मा सांसदहरूको उपस्थिति कमजोर भएको बताए ।
यसले सांसद तलबभत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ रहेको भन्दै उनले सांसदहरू बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराएका छन् ।
साथै बैठकमा उनले संसदीय सुनुवाइ समितिसहित दुई संयुक्त समिति तीन दिनभित्र टुङ्ग्याउनुपर्ने र समितिको नेतृत्व पनि यही बीचमा टुङ्गो लगाउनुपर्ने धारणा राखे ।
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८० १४:५१













