
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्योग व्यवसायको विकास र विस्तार गर्दै औद्योगिक आर्थिक क्रान्तिको आरम्भ गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित नेपाल बिजनेस समिट उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले आगामी आर्थिक वर्षको बजेटमा कृषि, उद्योग र स्वरोजगारले विशेष प्राथमिकता पाउने प्रतिबद्धता व्यक्त गरे । उनले कृषि क्षेत्रलाई आधुनिकीकरण एवं व्यवसायीकरण गर्दै लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसायको विकास गर्न आवश्यक रहेको पनि बताए ।
उनले तीव्र आर्थिक वृद्धिका लागि कृषि तथा वन पैदावर, पर्यटन, जलविद्युत, सूचना प्रविधि लगायत प्रचुर सम्भावना बोकेका क्षेत्रहरुमा स्वदेशी तथा वैदेशिक लगानी विस्तार गर्दै अघि बढ्नुपर्ने आवश्यक्ता रहेको बताए । उनले विदेशी लगानीमैत्री वातावरण बनाउन केही कठोर कदम चाल्नुपर्ने आवश्यकता महसुस गरेका उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले विधि प्रक्रियाको झन्झटलाई अन्त्य गर्नुपर्ने आवश्यक्ता रहेको पनि बताए । उनले प्रतिभावान विद्यार्थी विदेश पलायन हुनबाट रोक्न विदेशी विश्वविद्यालयहरू नेपालमै सहज रूपमा खोल्न पाउने नीति बनाउने उद्घोष गरे ।
‘शिक्षामा हजारौँ प्रतिभावान विद्यार्थी विदेश जाने र उतै बस्ने परिस्थिति अन्त्य गर्नका लागि मैले छलफल सुरु गरेको छु,’ उनले भने, ‘कलेज, विश्वविद्यालय खोल्न किन विदेशीलाई स्वीकृत नदिने, राम्रा विश्वविद्यालयहरू विदेशी लगानीमा नेपालमा भित्र्याउन केले रोकेको छ ? हामी अलि उदार नभइकन आर्थिक विकासलाई गति दिन सकिँदैन ।’
प्रधानमन्त्री दाहालले सरकार आगामी आर्थिक वर्षको बजेटका लागि नीति, कार्यक्रमको अन्तिम तयारीमा रहेको बताए । उनले आगामी वर्षको बजेटमा उत्पादन र रोजगारी वृद्धि गर्ने बताए । तत्काल देखापरेका संकटलाई समाधानका लागि चाल्नुपर्ने कदम, मध्यकालीन, र दीर्घकालीन रूपमा चाल्नुपर्ने नीति, कार्ययोजनाका बारेमा निजी क्षेत्रसँग छलफल भइरहेको उनको भनाइ छ ।
प्रधानमन्त्री दाहालले सामूहिक प्रयासबाट अहिलेका सम्पूर्ण समस्याको समाधान गर्न सकिने बताए । उनले शिखर सम्मेलनले आगामी आर्थिक वर्षको बजेट तयार गर्न सहज बनाउने विश्वास व्यक्त गरे । उनले वर्तमान अवस्थामा नेपालमा आर्थिक स्थिति सुदृढीकरण हुँदै गएको बताए । कृषिलाई उच्च प्राथमिकता दिएर मात्रै देशको समग्र उद्योग र अर्थतन्त्रलाई सुदृढीकरण गर्न सकिने उनको भनाइ छ । कृषिमा क्रान्तिकारी सुधार आवश्यक रहेको पनि उनले बताए ।













