News Griha :: न्यूजगृह
‘गल्ती स्वीकार नगर्नेसँग एकता असम्भव’
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको सिन्धुपाल्चोक जिल्ला भेलालाई शनिबार मेलम्चीमा सम्बोधन गर्दै पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल । तस्बिर : किरण थापा,रासस

सिन्धुपाल्चोक— नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन र विचार मिल्नेसँग गठबन्धन हुने बताएका छन् ।

मेलम्चीमा आइतबार आयोजित पार्टीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले देशको आर्थिक अवस्था सुधारका लागि विचार मिल्ने पार्टीबीच एकता हुने उल्लेख गर्दै आर्थिक अवस्था मजबुत बनाउनका लागि एकजुट हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष नेपालले गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव नरहेको बताए । ‘आफ्नो गल्ती महसुस नगर्ने, गल्ती स्वीकार गर्न नसक्नेहरूसँग गठबन्धन हुन सक्दैन’, उनले भने ।

गणतन्त्र जोगाउँदै संविधानको रक्षा गर्न विचार मिल्ने पार्टीबीच अहिलेको गठबन्धन बनेको उल्लेख गर्दै अध्यक्ष नेपालले भने,‘देशको वर्तमान अवस्थालाई ध्यानमा राखी अहिलेको गठबन्धन बनेको हो । संविधानको रक्षा, देशको अर्थतन्त्रको सुधार अहिलेको गठबन्धनमा आबद्ध दलहरूको साझा एजेन्डा हो ।’

कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य घनश्याम भुसाललगायतको सहभागिता थियो ।

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  २२:०१
Weather Update