News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्ड भन्छन्– ट्रेलर देखाएका छौँ, सिङ्गो फिल्म बाँकी छ

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारसम्बन्धी ठूला फाइलहरू खुल्दै जाने बताएका छन् । 

शनिबार काठमाडौंमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले कुनैपनि हालतमा भ्रष्टाचारीलाई छुट दिन नसकिने बताए । 

उनले अहिलेको नेपालीलाई भुटानी शरणार्थी बनाइ बेच्ने कुरा ट्रेलर मात्रै रहेको उल्लेख गर्दै पूरा फिल्म देख्न बाँकी रहेको बताए । 

‘यो सुरुवात मात्रै हो । यो ट्रेलर मात्रै हो, हेर्दै जानुस्, सिङ्गै फिल्म देखिन्छ । सिङ्गै फिल्म देखिनेवाला छ,’ उनले भने, ‘त्यसपछि पक्कै पनि ठूला घेराबन्दी होलान्, ठूला दबाबहरू आउलान्, धम्कीहरू होलान्, धेरै चिजहरू हुनसक्छ ।’ 

उनले उत्पीडित वर्ग समुदाय, श्रमजीवी जनसमुदाय साथमा भएसम्म कसैले केही गर्न नसक्ने बताए । उनले भने, ‘हाम्रो उत्पीडित वर्ग समुदाय हाम्रो श्रमजीवी जनसमुदाय साथमा भयो भने जतिसुकै ठूला घेराबन्दी दबाब र धम्कीको सामना गरिनेछ ।’
 
प्रधानमन्त्री दाहालले आफ्नो पार्टीलाई ३२ सिटे भन्ने गरेको उल्लेख गर्दै फेरि एकपटक गर्जनसके बहुमतमा पुग्ने बताए । 

‘त्यतिबेला सरकारमा हुनेहरूले र अहिले भुटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने मान्छे मध्येकाहरूले बडो व्यङ्ग्य गरेर चिसोमा प्रचण्डको हालतमा हेर त भन्थे,’ उनले भने, ‘माओवादी कमजोर भएको छ, ३२ सिटे हाम्रो नामाकरण भएको छ, हामी फेरि एक पटक गर्जियौँ भने बहुमतमा हामी पुग्छौँ ।’
 

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १५:४२
Weather Update