News Griha :: न्यूजगृह
ओलीजीले कसैलाई बचाउ भन्न सक्नुहुन्न, म दबाबमा पर्दिन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारीहरूलाई कारबाही गर्ने कुरामा सरकार दृढताका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धको सरकारको अभियान नरोकिने स्पष्ट पारे । 

दोषीलाई बचाउ भनेर कसैले पनि भन्न नसक्ने प्रधानमन्त्री प्रचण्डले बताए । ओलीसँगकाे भेटका विषयमा पत्रकारसँग कुरा गर्दै उनले भने, 'अस्ति पनि उहाँको यही विषयमा कन्सर्न थियो । आज पनि यही विषयमा कन्सर्न राख्नुभयो । मैले जेनरल कुरा राखे । बचाउ भन्ने त उहाँले भन्न सक्ने कुरा त भएन नि । उहाँले प्रधानमन्त्रीसँग कुरा गर्दाखेरि बचाइदेऊ भनेर त कसैले पनि भन्न सक्दैन नि ।'

उनले भ्रष्टाचारविरुद्धको अभियान प्रक्रिया र पद्धतिअनुसार अघि बढ्ने बताए । उनले दोषी नछुटाउने र निर्दोष नफस्ने गरी काम गर्ने प्रतिबद्धता समेत जनाए । प्रचण्डले भने, 'यो अभियान रोकिँदैन, प्रक्रिया, पद्धतिअनुसार दृढताका साथ अघि जान्छ। दोषी कोही नछुटुन्, निर्दोष कोही नपररुन् भन्ने मान्यताबाट हामी अघि बढ्छौँ । म दबाबमा पर्दिनँ, कारबाही अघि बढ्छ।'

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १५:०५
Weather Update