
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव तथा सांसद टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नरहेको बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा शनिबार प्रधानमन्त्री प्रचण्डलाई दोस्रोपटक भेटेपछि पत्रकारसँग कुरा गर्दै ओलीले त्यस्तो प्रतिक्रिया दिएका हुन् ।
शनिबार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका ओलीले टोपबहादुर रायमाझीको विषयमा अनभिज्ञ रहेको बताएका थिए । ओली नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानबारे छलफल गर्न ओली सिंहदरबार पुगेका थिए ।
उक्त भेटपछि सञ्चारकर्मीको प्रश्नमा ओलीले रायमाझीको अवस्थाबारे अनभिज्ञता प्रकट गरे । ओलीले भने, 'मेरो सम्पर्कमा हुनुहुन्न । तपाईंहरु नै बताइदिनुस् ।' अपराधीलाई जोगाउन लाग्नुभएको हो भन्ने प्रश्नमा ओलीले केहीले यस्तो गलत हल्ला चलाएको बताएका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी सचिव रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि ओलीले गत बिहीबार पनि प्रचण्डसँग भेटेका थिए । उक्त भेटमा ४ वर्षअघिको कुरा अहिले बाहिर आएको भन्दै ओलीले 'एउटा सांसद र पार्टीका नेतालाई षड्यन्त्रपूर्ण ढङ्गले किन समाउनुपर्ने अवस्था आयो ?' भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी हालसम्म फरार रहेका छन् ।













