News Griha :: न्यूजगृह
राजनीतिक विचारभन्दा माथि उठेर मुलुकको विकासमा लागौँ : खनाल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले राजनीतिक विचारभन्दा माथि उठेर मुलुकको विकासमा लाग्नुपर्ने बताएका छन् ।

जनकल्याण सामाजिक केन्द्र र सिद्धेश्वर करिडोर समितिले शनिबार आयोजना गरेको वातावरणसम्बन्धी अन्तरक्रियामा बोल्दै उनले विकासका लागि राजनीति गर्न नहुने बताए ।

पूर्वमन्त्री समेत रहेका नेता खनालले बागमती करिडोर सरसफाइका लागि धेरै तहमा छलफल भएपनि विष्णुमती करिडोरको विकासका बारेमा धेरै छलफल हुन नसकेको बताए । उनले भने, 'राजनीतिलाई फरक ढङ्गले अगाडि बढाउनुपर्छ, अर्को पार्टीलाई निषेध गर्ने परिपाटीको अन्त्य गर्नुपर्छ ।'

संसारको प्रदूषित सहरमध्ये काठमाडौँसमेत भएको जनाउँदै उनले यसलाई वातावरणमैत्री बनाउन प्रत्येक व्यक्तिको भूमिका महत्त्वपूर्ण रहेको बताएका थिए । सङ्घ र प्रदेश सरकार कानुन बनाउन व्यस्त हुने भएकाले स्थानीय सरकारले स्थानीय क्षेत्रको विकासका लागि विशेष चासो दिनुपर्ने उनको भनाई थियो । 'सङ्घ र प्रदेश सरकारको सहयोगमा स्थानीय सरकारले स्थानीय क्षेत्रको विकासमा लाग्नुपर्छ', उनले भने ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी नेता एवम् बागमती प्रदेशसभा सदस्य हरिप्रभा खड्गी श्रेष्ठले वातावरणमैत्री सहरका व्यक्ति र घरपरिवारबाट चेतना आउनुपर्ने बताए । वृक्षारोपण गर्दा मानव जीवनलाई प्रत्यक्ष फाइदा पुग्ने रूख बिरुवा रोप्नुपर्ने उनको भनाइ थियो ।

उनले सडक कालोपत्रे गर्दा ढल, खानेपानी र बिजुलीको अवस्थालाई राम्रोसँग अध्ययन गर्नुपर्ने बताए । नीति निर्माणसँगै स्थानीय तहको विकासका लागि प्रदेश सरकार कटिबद्ध रहेको खड्गीले बताए ।

नेपाली कांग्रेस टोखा नगरपालिकाका सभापति ओमकृष्ण विमलीले विकासका लागि जनप्रतिनिधिको इच्छाशक्ति हुनुपर्ने बताए । टोखा–९ का वडाअध्यक्ष रामभक्त घिमिरेले स्थानीय सरकारदेखि केन्द्रीय सरकार सहकार्य गरेर अगाडि बढे मात्र स्थानीय तहको विकास हुने बताए ।

जनकल्याण सामाजिक केन्द्रका अध्यक्ष विकासकुमार दासले काठमाडौँलाई स्वच्छ, हराभरा र वातावरणमैत्री सहर बनाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको बताए । प्राकृतिक वातावरण र राजनीतिक वातावरण राम्रो भए मात्र देशको विकास सम्भव हुने अध्यक्ष दासको भनाइ छ ।

यसैगरी सिद्धेश्वर करिडोर समितिका अध्यक्ष उमाकान्त सिवाकोटीले विष्णुमती करिडोरलाई सुन्दर, सफा र हराभरा बनाउन तीनै तहका सरकारको उत्तिकै भूमिका रहेको बताए ।

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १२:२८
Weather Update