News Griha :: न्यूजगृह
दार्चुला हिम पहिरोमा परेका दुई जना अझै बेपत्ता, खोजी कार्य जारी
फाइल तस्बिर

दार्चुला— दार्चुलामा हिम पहिरोमा परेर बेपत्ता भएका दुई जना अझै फेला परेका छैनन् । डोटीको जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीय ईश्वरी थापा र १५ वर्षीय क्षिमी सोमो थापा अझै फेला नपरेका हुन । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार बेपत्ता भएका दुई जनाको खोजी कार्य अझै जारी राखिएको छ । वर्षा र हिमपातका कारण खोजी कार्यमा असहज भए पनि तालिम प्राप्त सुरक्षाकर्मीले हिमपात गएको क्षेत्रमा स्थानीयवासीसँगको सहकार्यमा खोजी कार्य जारी राखेको छ ।

ब्यास गाउँपालिका–१ भोलुङमा हिम पहिरोमा परी बेपत्ता भएका पाँच मध्ये तीन जनाको भने शव भेटिएको थियो । उनीहरू तीनै जनाको शव भारतीय सीमा हुँदै तीन दिन पछि हिजो सदरमुकाम खलंगा ल्याइएको थियो । 

गत साता गएको हिम पहिरोमा परी निधन भएका दुहुँ गाउँपालिका–४ दार्चुलाकी ३८ वर्षीय कमला कुँवर र उनका १८ वर्षीय छोरा प्रवीण कुँवर  तथा जोरायल गाउँपालिका–२ बुडर, डोटीकी ४५ वर्षीय नक्नी डोमा थापाको शव भने परिवारजनलाई हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  ११:४१
Weather Update