
काठमाडौं— नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिचन्द्र क्याम्पस हाताभित्र विद्यार्थीलाई कुटपिट गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ ।
नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आइतबार विज्ञप्ति जारी गरी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई विथोल्ने गरी विद्यार्थी कुटपिट गरिएको भन्दै दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् ।
‘लामो समयपछि देशभर हर्षोल्लासका साथ सम्पन्न हुन गइरहेको स्ववियु निर्वाचनमा आज नेपालको सबैभन्दा पुरानो क्याम्पस त्रिचन्द्रमा स्ववियु निर्वाचनका लागि खटिएका निर्वाचन अधिकृतलाई धरपकड र लखेट्ने जस्ता अमर्यादित र निन्दनीय घटनाप्रति नेविसंघ खेद प्रकट गर्दछ’, नेविसंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
त्रिचन्द्रमा विवेक बानियाँ, सुन्दर बडाल, यसमान विष्ट, अर्जुन पौडेल, केशरजंग बम, महेश खनाल, विनोद देउवा, रोहित चौधरी, सुरेन्द्र विश्वकर्मा, सुवास खड्का, गोविन्द कोइराला, सृष्टि सुवेदी, आश्विन अधिकारीलगायत विद्यार्थी घाइते भएको नेविसंघले जनाएको छ ।
नेविसंघ स्ववियु निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा.सन्तोष उपाध्यायले अपराधिक घटनामा संलग्न व्यक्तिमाथि छानबिन गरी यथाशीघ्र कानुनी कारबाहीको माग गरेका छन् ।













