News Griha :: न्यूजगृह
पशुपतिका हनुमान !

काठमाडौं— पशुपतिको मृगस्थली जंगलमा शुक्रबार (२२ वैशाख) अभिनेता प्रकाश घिमिरे हनुमानकाे हुलियामा भेटिए । मुखमा हनुमानको जस्तो मास्क, पुच्छर भएको वस्त्र र हातमा घडा लिएर यताउती डुलिरहेका उनलाई देखेर मानिसहरू अचम्मित पर्थे र हेर्थे । कतिपयले उनीसँग फोटो खिचाउन खोज्थे । तर उनीसँग फोटो खिच्न रोक लगाइएको थियो ।

पशुपतिनाथ मन्दिर परिसरमा जारी पशुपतिप्रसाद–२ भष्मे डनको छायांकनका लागि अभिनेता प्रकाश घिमिरे हनुमान बनेका हुन् । यसअघिको फिल्म पशुपतिप्रसादमा मानिसको लास जलाउने चरित्रमा देखिएका मितबा (प्रकाश घिमिरे) लाई भष्मे डनमा निर्देशकले किन हनुमान बनाए ? यो चाहिँ निर्माण यूनिटले खुलाउन चाहेन । पशुपतिप्रसाद फिल्ममा हनुमानको चरित्रमा अर्का अभिनेता रविन्द्रसिंह बानियाँ देखिएका थिए । फिल्ममा ऋण लागेपछि आफ्नो हुलिया लुकाउन बानियाँको चरित्रले हनुमान बनेर पशुपतिमा बस्दै आएको देखाइएको थियो ।

पशुपतिप्रसाद फिल्मबाट सबैभन्दा चर्चित बनेको पात्र हो भष्मे डन । निर्देशकले पटक यही नामलाई टिपेर फिल्म नै बनाइरहेका छन् । भष्मे डनपछि फिल्ममा प्रकाश घिमिरे अभिनित चरित्र मितबा निकै हिट बनेको थियो । ‘यो फिल्ममा मेरो चरित्रको धेरैवटा भेरियसन देख्न पाइन्छ,’ हनुमान भेषमा रहेका अभिनेता घिमिरेले भने,‘ फिल्म दर्शकको लागि मनोरञ्जनको सम्पूर्ण प्याकेज हुनेछ ।’

प्रकाश घिमिरे यही फिल्मका लागि ४८ दिनयता काठमाडौंमा छन् । फिल्म भष्मे डनको छायांकन सकिन अझै १ हप्ता लाग्ने निर्माण यूनिटले जनाएको छ ।

एउटै फिल्मका लागि ४८ दिनसम्म काठमाडौं बसेको घिमिरेको लागि नौलो हो । पोखराका रैथाने यी कलाकार अहिले सर्वाधिक माग भएका चरित्र अभिनेता हुन् । भष्मे डनको छायांकन अवधि लम्बिँदा उनले हातमा आएको २ वटा फिल्मको अफरलाई लत्याउनुर्‍यो । भष्मे डन सकिएलगत्तै उनी ‘शक्ति’ नामक अर्को फिल्ममा व्यस्त भइहाल्ने सेड्युल छ ।

hanuman, pashupati1683350235.JPG

गाई दुहुने चिन्ता

प्रकाश सुटिङका लागि काठमाडौं छन् । तर मन पोखरामै । ‘घरको गाईलाई घाँस दिए कि दिएनन् होला ? गाईले भाडाको गोठालोलाई दूध दियो कि दिएन ?’ यस्तैयस्ता तर्कना उनको मनमा खेलिरहन्छ ।

‘यताको सेड्युल सकिएपछि एक हप्ताको लागि त पोखरा जान्छु । अर्को फिल्म सुरु भएपछि जान पाइँदैन । उता घरमा गाई दुहुन र स्याहार सुसार गर्न भनेर तलब दिएर मान्छे राखेको छु । आफू हुँदा जस्तो स्याहार गर्दिदैनन्,’ घिमिरेले सुनाए ।

सुटिङ नहुँदाको समयमा घिमिरे आफैंले गाईको स्याहार गर्दै आएकोले पनि उनलाई घर छाडेर हिँड्दा त्यसैको थकथकी लाग्छ । उमेरले ६० को दशक हिँडिरहँदा पनि प्रकाशले घरव्यवहार र सुटिङलाई खुब व्यवस्थापन गरिरहेका छन् ।

केही वर्ष अगाडिसम्म उनले पोखरा नदीपुरको कन्या स्कुलमा अध्यापन पनि गर्नुपर्थ्यो । त्यो बेला उनलाई फिल्महरूका लागि सेड्युल मिलाउन कम्ता मुश्किल पर्थेन । अहिले उनी अध्यापन पेशाबाट सेवानिवृत्त भइसकेका छन् । निवृत्त भएर फिल्मका लागि प्रशस्तै समय छुट्याउन सक्ने भएकै बेला कोरोनाले नेपाली फिल्म क्षेत्रलाई पनि नराम्रोसँग प्रहार गर्‍यो । त्यसको प्रत्यक्ष मार अरू फिल्मकर्मीहरू जस्तै घिमिरेलाई पनि पर्‍यो । ‘अब बल्ल फिल्महरू बन्न थालेका छन्, अफरहरू पनि बाक्लिन थालेको छ,’ घिमिरेले भने ।

हाल छायांकन भइरहेको भष्मे डनभन्दा अगाडि घिमिरेले खेलेको फिल्म हो ‘प्रसाद–२’ । फिल्म प्रसाद–२ ले हलमा राम्रो पर्फमेन्स गर्न सकिरहेको छैन । ‘बेलामा फिल्म चलाएनन् र हो नत्र गज्जब चल्नुपर्ने फिल्म हो त्यो । खै के गरे गरे । फिल्म नचल्दा अलिक नमज्जा लाग्दो रैछ,’ घिमिरेले भने ।

प्रसाद–२ पछि उनी जोडिएको फिल्म भष्मे डन नै हो । भष्मे डनमा पशुपतिप्रसादमा भन्दा पनि अझै प्रभावकारी भूमिका रहेको बताउँछन् घिमिरे । ‘यो पटक मेरो धेरै सिनहरू छन् । त्यही भएर फिल्म छायांकन भएको दिनदेखि मैले सेट छाडेको छैन । सायद फिल्म पूरा नसकिंदासम्म निर्माण यूनिटले मलाई छाड्दैन होला,’ घिमिरेले भने ।

समय व्यवस्थापनमा घिमिरे अब्बल नै छन् । शुक्रबार रातभर भष्मे डनको छायांकन सेड्युल भएका कारण शनिबार दिनमा फिल्मका छायांकन हुने छैन । त्यही मेसोमा घिमिरे म्यूजिक भिडिओमा अभिनय गर्दैछन् । ‘समय मिलेसम्म गरौं न भनेर हुन्छ भनिदिएँ । फेरि उनीहरूले पनि हजुर नै चाहिन्छ भनेर जोड गरेपछि मैले इन्कार गर्न सकिनँ,’ घिमिरेले प्रस्ट्याए ।

अब पूर्णकालीन अभिनेता

प्रकाश घिमिरे हेर्दा जति मिजासिला, सरल र हंसमुख देखिन्छन् त्यति नै धेरै दुःख अनि संघर्षकाे जीवन गुजारेका छन् । अनेकाैं दुःखका बीचमा उनले आफ्नो साहित्यिक र कलाकारिताको बाटोलाई कहिल्यै छाडेनन् ।

प्रकाश घिमिरेसँग कलाकारिताको नाता पुरानै हो । तर उनी एक दशकयताबाट चर्चामा आउन थाले । आफ्ना हितैषी साथी अनुप बरालसँग मिलेर पोखरामा जवान हुँदाताका नै प्रकाशले नाटक खेल्थे, बनाउँथे र निर्देशन पनि गर्थे ।

उनी पोखराको नदीपुरमा रहेको कन्या माविमा अध्यापन गर्थे । छोरीहरू पढाइका लागि शहर बाहिर । छोरो सानै । जीवन संगीनीले जोडबलको काम गर्न नहुने भएपछि घरधन्दा र बारीको काम पनि घिमिरेकै काँधमा हुन्थ्यो । बुढेसकालका विरामी बुबाको हेरचाहा पनि उनैले गर्नुपर्थ्यो ।

‘बुबा पनि केहि समय अगाडि बित्नुभयो । स्कुलबाट पनि सेवानिवृत्त भैहालें । छोरीहरू आफ्नो गरेर खाने भइसके । त्यही भएर अब त म पूर्णकालीन कलाकारितामै लाग्छु भन्ने सोच बनाएको छु,’ घिमिरेले आफ्नो योजना सुनाए,‘गाई दुहुन र स्याहार गर्न पनि मान्छे राखेको छु । अल्लि सजिलो भएको छ ।’

घिमिरे पात्रलाई बुझेर सोही अनुरूपको अभिनय गर्न सक्ने अब्बल अभिनेता मानिन्छन् । जीवन चरित्र अभिनय गर्न सक्ने कलाकारको रूपमा फिल्मकर्मीले उनको खोजी गर्छन् । चरित्र अभिनेताको रूपमा घिमिरेले जुन उचाइ बनाएका छन् त्यो सायदै कलाकारले बनाउँछन् ।

उमा, टलकजंग भर्सेज टुल्के, पशुपतिप्रसाद, जात्रा, जात्रैजात्रालगायत उनले थुप्रै चर्चित फिल्महरूमा काम गरिसकेका छन् । फिल्म, नाटकसँगै पछिल्लोपटक घिमिरेलाई म्यूजिक भिडिओ र टेलिचलचित्रहरूबाट समेत अफरहरू आइरहेका छन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १०:३९
समसामयिक
Weather Update