News Griha :: न्यूजगृह
सात वर्षमा चितवन राष्ट्रिय निकुञ्जका ३० बाघ मरे
फाइल फोटो

चितवन— विगत सात वर्षमा ३० वटा बाघ मरेका छन्  । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ती बाघ मरेका हुन् । आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्म ती बाघ मरेका हुन् । 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका बाघमध्ये १४ भाले, आठ पोथी छन् । आठ वटाको पहिचान नखुलेको उनको भनाइ छ । उनका अनुसार मृत भेटिएका बाघमा बुढो भएर आठ, आपसमा जुधेर आठ, उपचारका क्रममा पाँच, बिरामी भएर एक, विष सेवनबाट तीन र पाँच वटा कारण नखुलेको पाइएको छ ।

यसैगरी आर्थिक वर्ष २०७२/०७३ मा एक, २०७३/०७४ मा चार, २०७४/०७५ मा छ, २०७५/०७६ मा आठ बाघ मृत भेटिएको थियो । आ.व. २०७६/०७७ मा तीन, २०७७/०७८ मा दुई र २०७८/०७९ मा छ वटा बाघ मृत भेटिएका थिए । चालु आ.व.मा भने बाघ मृत नभेटिएको जनाइएको छ । 

चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय बाघको सङ्ख्या बढेको छ । बाघको सङ्ख्या वृद्धि भएसँगै आहाराको खोजीमा बाघ एकापसमा जुध्ने गर्नाले मृत भेटिने सङ्ख्या बढेको तिवारीले बताए । 

निकुञ्जको तथ्याङ्कअनुसार चालु आ.व.को चैत मसान्तसम्ममा ९६ वटा वन्यजन्तु मृत अवस्थामा भेटिएका छन् । यस्तै ९६ वटा वन्यजन्तुको उद्धार गरिएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  ०९:१७
Weather Update