
महोत्तरी— महोत्तरीमा शिक्षिका नै घरेलु हिंसाको सिकार बनेकी छन् । बर्दिबास-३ निवासी सीता माझी आफ्नै श्रीमान् चन्द्रे माझी र कान्छी श्रीमती अनिता भुजेलबाट घरेलु हिंसाको सिकार बनेकी हुन् ।
बर्दिबासकै भब्सी आधारभूत विद्यालयमा अध्यापन गराउने शिक्षिका माझीलाई १९ वैशाखको राति निर्ममतापूर्वक कुटपिट गरी सख्त घाइते बनाइएको थियो । यसअघि पनि उनी निकै प्रताडित बन्दै आएको पीडितले बताएकी छन् ।
उनका श्रीमान् चन्द्रे माझी र कान्छी श्रीमती अनिता भुजेलले ज्यानै लिने उद्देश्यले घरेलु हतियार समेत प्रयोग गरिएको पाइएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार बत्ती अफ गरेर अँध्यारोमा विभिन्न घरेलु हतियार प्रयोग गर्दै उनीहरूले आक्रमण गरेका थिए । पटक पटक यस्ता घटना दोहोर्याइ रहे तापनि समाजले सहजीकरण गर्दै आएको थियो ।
राहत कोटामा अध्यापन गराउँदै आएकी सीता किन हिंसाको सिकार बनिन् भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । पीडित माझीले श्रीमानविरुद्ध बहुविवाह र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी गरेकी छन् ।
पिडक भनिएका चन्द्रे माझीलाई भने प्रहरीलाई पक्राउ गरेको छ । उनलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय गौरिडाँडाका प्रमुख विजय यादवले बताए । पीडितले अहिलेसम्म जाहेरी ल्याइ नसकेको पनि प्रहरीले जनाएको छ । जाहेरी ल्याए पछि मुद्दा प्रक्रिया अगाडि बढाइने प्रमुख यादवले जानकारी दिए ।
शिक्षिका नै घरेलु हिंसाको सिकार भएको भन्दै शिक्षक संगठनहरुले एक प्रेस विज्ञप्ति निकालेर ध्यानाकर्षण जनाएका छन् । सांघातिक आक्रमणसहित ज्यान नै लिने कुकृत्य गर्ने दोषीलाई कडा कारबाहीको माग गर्दै एकीकृत अखिल नेपाल शिक्षक संगठन बर्दिबासले घटनाप्रति आपत्ति जनाएको छ ।
नगर कमिटीका संयोजक सूर्यनारायण दास र सचिव टंकप्रसाद पोखरेलले दोषीलाई कारबाहीको दायरामा नल्याए आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।