News Griha :: न्यूजगृह
एक महिना देखी मिटर ब्याज पीडितहरू धर्नामा
फाइल तस्बिर

काठमाडौं— मिटर ब्याज पीडितहरू विगत एक महिना देखी धर्नामा बसिरहेका छन् । 

गत २९ चैत देखी काठमाडौं रत्नपार्कस्थित खुल्ला स्थानमा धर्नामा बसेका मिटर ब्याज पीडितलाई सरकारले भने अझै सम्बोधन गर्न सकेको छैन ।

समस्या समाधानका लागि पटक-पटक वार्ता भए पनि मिटर ब्याज पीडितले धर्नालाई भने जारी राखेका छन् ।  सरकारले  मिटर ब्याज पीडितको पक्षमा छानबिन गर्न जाँचबुझ आयोग समेत बनाएको भए पनि आयोग बनाएर मात्रै न्याय नहुने भन्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउनुपर्ने माग राख्दै मिटर ब्याज पीडितले धर्ना जारी राखेका हुन् ।

जाली तमसुक च्यात्नु पर्ने तथा पिडकलाई तत्कालै कारबाही गर्नुपर्नेलगायतका माग राखेर उनीहरूले धर्नालाई निरन्तरता दिएका हुन् । सरकारले हालै अध्यादेशमार्फत मिटर ब्याजमा संलग्नहरूलाई ७ वर्षसम्म जेल सजाय दिने निर्णय भने लिइसकेको छ ।  

मिटर ब्याज पीडितहरूले आफूहरूलाई सरकारले बेवास्ता गरेको गुनासो नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसमक्ष राखेपछि उनले सो विषयलाई राजनीतिक रुपमा सम्बोधन गर्नुपर्ने जनाएका थिए ।

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  ०६:२७
Weather Update