News Griha :: न्यूजगृह
निकोलस भुसाल फेरि पक्राउ परे

पोखरा— हिरासतमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तस्बिर खिचेर सार्वजनिक गरेको आरोपमा कास्की प्रहरीले फेरि डा. निकोलस भुसाल (कमल)लाई नियन्त्रणमा लिएको छ ।

गत पुस ८ गते प्रहरीले उनलाई पहिलोपटक पक्राउ गरेको थियो । सोही दिन विद्युतीय अपराधको मुद्दामा उनलाई म्याद थपका लागि अदालत समेत लगिएको थियो । तर उक्त दिन म्याद थप गर्न अदालतले इन्कार गरेको थियो ।

त्यतिबेला न्यायाधीश नारायण दाहालको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थिएन । अदालतले आदेश नदिएपछि भुसाललाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्नेगरी सोही दिन नै रिहा गरिएको थियो ।

लामिछानेसहितका प्रतिवादीहरू अदालतले धरौटीमा रिहा गरेपछि काठमाडौं गइसकेका छन् । उनै लामिछानेको तस्बिर खिचेका भुसाललाई भने प्रहरीले सोही मुद्दामा पुनः पक्राउ गरेको हो ।

कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले भुसाल प्रहरी हिरासतमा रहेको बताए । उनका अनुसार अदालतमा पत्र बुझाएपछि भुसाललाई नियन्त्रणमा लिइएको हो । साँझ ६ बजेसम्म भुसाल भने प्रहरीको अपराध/अनुसन्धान शाखामा उपस्थित थिए । प्रहरीले त्यहीँबाट उनलाई हिरासतमा राखेको हो ।

भुसाललाई शुक्रबार अदालतमा पेस गर्ने र बयान गराइने ओलियाले जानकारी दिए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  २०:३२
Weather Update