News Griha :: न्यूजगृह
फेरि ब्युँतिएको हो रक्तचन्दन तस्करीको सञ्जाल?

काठमाडौं— रक्तचन्दन तस्करी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले दुई जनालाई ४६२ किलोग्राम रक्तचन्दन सहित पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंका ४१ वर्षीय रमेश थापा र सिन्धुपाल्चोक बलेफीका ४० वर्षीय ज्ञानबहादुर तिमिल्सिनालाई माघ १ गते राति भक्तपुरबाट पक्राउ गरेको छ।

यस घटनाले नेपाल फेरि रक्तचन्दन तस्करीको ट्रान्जिट बनेको संकेत गरेको छ। यद्यपि अनुसन्धान प्रारम्भिक चरणमै भएकाले अहिले केही भन्न नसकिने अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले बताए।

प्रारम्भिक सोधपुछ भइरहेको र रक्तचन्दन कहाँबाट ल्याइएको हो र गन्तव्य कहाँ हो भन्ने खुलिनसकेको आचार्यले बताए। २०६० को दशकमा भारतबाट अवैध तवरमा नेपालको बाटो हुँदै रक्तचन्दन संगठित रूपले चीन तस्करी हुने गरेको थियो।

भक्तपुरमा बरामद गरिएको रक्तचन्दनको उद्गम भारत र गन्तव्य चीन भएको प्रहरीको अनुमान छ। 'तर यकीन भइसकेको छैन,' आचार्यले भने। 

विगतमा राजनीतिक दलका केही नेताको संरक्षणमा भारतीय रक्तचन्दन काठमाडौं, सिन्धुपाल्चोक हुँदै चीन तस्करी हुने गरेको थियो। पक्राउ परेका थापा र तिमिल्सिना भरिया मात्रै हुन् वा कुन तहका आरोपित हुन् भन्ने पनि खुलिनसकेको एसपी आचार्यले बताए।

रक्तचन्दन विश्व वन्यजन्तु तथा वनस्पतिको नियमन गर्ने अभिसन्धि (साइटिस) को अनुसूची-२ मा सूचीकृत प्रजातिको वनस्पति हो। साइटिसको अनुसूची-२ मा संकटापन्न वनस्पतिलाई राखिन्छ, जसको ओसारपसार प्रतिबन्धित हुन्छ। नेपाल पनि साइटिस अभिसन्धिको हस्ताक्षरकर्ता देश हो।

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १७:०४
Weather Update