काठमाडौं— कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई विहीवार छलफलका लागि बोलाएका छन् । देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पार्टीबाट सरकारमा सहभागी भएका दश मन्त्री र दुई राज्यमन्त्रीलाई छलफलका लागि बोलाएका हुन् ।
सभापति देउवाले संसदीय दलको कार्यसमिति र मन्त्रीहरू बीच अर्न्तक्रियाका लागि बैठक बोलाइएको गृहमन्त्री रमेश लेखकले बताए । ‘यो संसद् बैठक बस्नुअघिको वामवर्क बैठक हो, मन्त्रीहरूले के–के काम गरिरहनु भएको छ भनेर जानकारी गराउने कुरा पनि हो,’ उनले भने ।
सरकारमा सहभागी भएका केही मन्त्रीहरूको प्रभावकारितालाई लिएर पार्टीभित्र प्रश्न उठिरहेकाले त्यस बिषयमा पनि छलफल हुने पार्टीका एक पदाधिकारीले बताए ।
‘केही मन्त्री बारम्बार विवादमा आइरहनु भएको छ । त्यस्ता मन्त्रीको इमेजले समग्र पार्टीको इमेज बिग्रेको छ,’ ती पदाधिकारीले भने,‘त्यसबारेमा पनि हामी गम्भीर छलफल गछौं ।’