News Griha :: न्यूजगृह
ठमेलबाट अपहरणमा परेका चिनियाँ नागरिकको भीमफेदीबाट उद्धार, चार भारतीय पक्राउ

काठमाडौं— काठमाडौंको ठमेलबाट अपहरित एकजना चिनियाँ नागरिकलाई प्रहरीले उद्धार गरेको छ । उनलाई गाडीमा हालेर लाँदै गरेको अवस्थामा चारजना भारतीय नागरिकलाई मकवानपुरको भीमफेदीबाट नियन्त्रणमा लिइएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी टेकप्रसाद तामाङले बताए ।

प्रहरीका अनुसार, मंगलबार ठमेलबाट एकजना चिनियाँ नागरिकलाई अपहरण गरिएको भन्दै खबर आएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेको थियो । हराएको भनेको स्थानको सीसीटीभी हेर्दा भारतीय नागरिकहरूले उनलाई गाडीमा हालेर लैजाँदै गरेको फेला परेको थियो ।

‘इन्डियन नम्बर प्लेटकै गाडीमा हालेर लैजाँदै गरेको देखिएपछि जान सक्ने सम्भावित स्थानहरूमा चेक पोइन्ट राखेका थियौं,’ कार्यालयका एसएसपी सानुराम भट्टराईले भने, ‘त्यसक्रममा भीमफेदीमा शंकास्पद गाडीलाई नियन्त्रणमा लिएका थियौं ।’

भट्टराईका अनुसार, प्रहरीले चालक र एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिए पनि सुरुमा अन्य व्यक्तिहरू भागेका थिए। पछि जिल्ला प्रहरी कार्यालय, मकवानपुरसमेतको समन्वयमा चारजना भारतीय नागरिकलाई पक्राउ गरिएको भट्टराईले जानकारी दिए ।

‘चिनियाँ नागरिक पनि भागेका थिए, त्यसक्रममा उनलाई नियन्त्रणमा लिएर फर्पिङबाट ल्याउँदैछौं,’ उनले थपे । प्रहरीले हालसम्म पक्राउ परेका र उद्दार गरिएकाका व्यक्तिको नाम खुलाएको छैन । काठमाडौं ल्याएर बुधबारदेखि थप अनुसन्धान गरिने प्रहरीले बताएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, माघ २, २०८१  ०४:२०
Weather Update