News Griha :: न्यूजगृह
वर्ष दिनमा नेपालमा गैरआवासीय भारतीयको सङ्ख्या एक लाखले वृद्धि

काठमाडौं— नेपालमा पछिल्लो एक वर्षमा गैरआवासीय भारतीयको सङ्ख्या एक लाखले वृद्धि भएको छ । भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार, सन् २०२४ मा नेपालमा गैरआवासीय भारतीयको सङ्ख्या ७ लाख पुगेको छ । अघिल्लो वर्ष अर्थात् सन् २०२३ मा यो सङ्ख्या ६ लाख थियो । 

भारतीय विदेश मन्त्रालयको तथ्याङ्कले पछिल्लो एक वर्षमा नेपालमा गैरआवासीय भारतीयको सङ्ख्या एक लाखले वृद्धि भएको देखाएको हो । भारतीय विदेश मन्त्रालयले ‘विदेशमा रहेका भारतीयहरूको जनसङ्ख्या’ विवरण सार्वजनिक गरेको हो । 

विश्वका २०४ देशमा गैरआवासीय भारतीय र भारतीयमूलका व्यक्ति रहेको विदेश मन्त्रालयको विवरणमा उल्लेख छ । विश्वमा रहेका गैरआवासीय भारतीयमध्ये ४.४१ प्रतिशतभन्दा बढी सङ्ख्या नेपालमा छन् । 

विदेश मन्त्रालयका अनुसार, ती देशमा एक करोड ५८ लाख ५० हजार ६१२ गैरआवासीय भारतीय र एक करोड ९५ लाख ७१ हजार ३७५ जना भारतीयमूलका व्यक्ति गरी कुल तीन करोड ५४ लाख २१ हजार ९८७ जना भारतीय विदेशमा छन् । यो तथ्याङ्क २७ नोभेम्बर, २०२४ सम्मको हो । 

नेपालको कुल जनसङ्ख्याभन्दा बढी भारतीय विदेशमा रहेको भारतीय विदेश मन्त्रालयको तथ्याङ्कले देखाउँछ । 

गैरआवासीय भारतीयको छैटौँ ठूलो सङ्ख्या नेपालमा छ । विदेश मन्त्रालयको विवरण अनुसार, सबैभन्दा बढी गैरआवासीय भारतीय युनाइटेड अरब इमिरेट्स (यूएई)मा ३५ लाख ५४ हजार २७४, साउदी अरेबियामा २४ लाख ६० हजार ६०३, अमेरिकामा २० लाख ७७ हजार १५८, क्यानडामा १० लाख १६ हजार २७४, कुवेतमा ९ लाख ९३ हजार २८४ र नेपालमा ७ लाख छन् । 

विदेश मन्त्रालयको तथ्याङ्कले दक्षिण एसियामा गैरभारतीय नागरिकको सबैभन्दा ठूलो सङ्ख्या नेपालमा रहेको देखाएको छ । दक्षिण एसियाली राष्ट्रमध्ये ६ लाख भुटानमा, ७ हजार बङलादेशमा, २७ हजार ६५ जना माल्दिभ्स र सात हजार ५०० जना श्रीलङ्कामा गैरआवासीय भारतीय रहेका छन् । 

विवरण अनुसार, दक्षिण एसियाली राष्ट्रमध्ये अफगानिस्तान, पाकिस्तानमा एकजना पनि गैरआवासीय भारतीय र भारतीयमूलका नागरिक छैनन् । दक्षिण एसियाली राष्ट्रमा भारतीय मूलका नागरिक सबैभन्दा ठूलो सङ्ख्या श्रीलङ्कामा छ । श्रीलङ्कामा यस्ता व्यक्ति १६ लाख रहेको भारतीय विदेश मन्त्रालयको विवरणमा उल्लेख छ । 

विदेश मन्त्रालयको विवरण अनुसार गैरआवासीय भारतीय र भारतीय मूलका व्यक्ति गरी कुल ५४ लाख ९ हजार ६२ जना अमेरिकामा, ३५ लाख ६८ हजार ८४८ जना यूएईमा, २९ लाख १४ हजार १२७ मलेसियामा, २८ लाख ७५ हजार ९५४ क्यानडामा रहेका छन् । 

२४ लाख ६३ हजार ५०९ जना साउदी अरेबियामा, २० लाख २ हजार ६६० म्यानमारमा, १६ लाख ७ हजार ५०० श्रीलङ्कामा, १७ लाख दक्षिण अफ्रिकामा, ९ लाख ९५ हजार ५२८  कुवेतमा, ९ लाख ७६ हजार अष्ट्रेलियामा, ८ लाख ९४ हजार ८४८ मौरीसस्मा र ८ लाख ३६ हजार ७८४ कतारमा गैरआवासीय भारतीय र भारतीय मूलका व्यक्ति छन् । 

नेपालमा रहेका भारतीयले ठूलो रेमिट्यान्स भारत पठाउने गरेका छन् । एक अध्ययनले नेपालबाट सबैभन्दा बढी रेमिट्यान्स भारत जाने गरेको देखाएको छ ।  अमेरिकाको वाशिङ्टनमा रहेको अनुसन्धान संस्था पीयू रिसर्च सेन्टरले गरेको अध्ययनमा सन् २०१७ मा नेपालबाट भारतमा तीन अर्ब १ करोड ६० लाख अमेरिकी डलर रेमिट्यान्स गएको देखाएको थियो । हालको विनिमयदरमा यो भनेको चार खर्ब १७ अर्ब रुपैयाँभन्दा बढी हो । 

नेपालबाट बाहिरिने कूल रेमिट्यान्सको ९३.४९ प्रतिशत भारतमा मात्र जाने गरेको पियूको अध्ययनले देखाएको थियो ।

सन् २०१७ मा भारतबाट भने नेपालमा मात्र एक अर्ब दुई करोड १० लाख अमेरिकी डलर रेमिट्यान्स भित्रिएको थियो । भारतबाट भित्रिएको उक्त रेमिट्यान्स त्यही वर्ष नेपाल भित्रिएको कूल रेमिट्यान्सको १४.६२ प्रतिशत थियो । अध्ययनमा सन् २०१७ मा ७२ देशबाट कूल ६ अर्ब ९७ करोड ९० लाख अमेरिकी डलर रेमिट्यान्स नेपाल भित्रिएको देखाएको थियो ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  ११:४१
Weather Update