News Griha :: न्यूजगृह
स्ववियुको तयारी कतै अन्योल

चितवन— त्रिभुवन विश्वविद्यालयले भोलि चैत्र ५ गते आइतबारका लागि तय गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको जिल्लामा कतै तयारी अघि बढेको छ भने कतै अन्योल बनेको छ । विद्यार्थी संगठनबीचको विवादले कतिपय क्याम्पसमा निर्वाचन स्थगित भएको छ ।

विवादपछि कतिपय क्याम्पसमा विद्यार्थीले तालाबन्दी गरेका छन् । विद्यार्थी संगठनले लगाएको ताला खुलाउने विषयमा संगठन र क्याम्पस प्रशासनबीच सहमतिको प्रयास भए पनि सफल हुन नसकेपछि अधिकांश कलेजमा स्ववियु निर्वाचनको प्रक्रिया सुरु भए पछि रोकिएको छ ।

जिल्लामा तीन आंगिक कलेज र १७ सामुदायिक कलेजमा स्ववियु निर्वाचन हुनुपर्ने हो । तर आइतबार हुनुपर्ने निर्वाचन अनिश्चित बनेपछि विद्यार्थी संगठन स्थानीय प्रशासन र कलेज प्रशासनलाई दबाब दिइरहेका छन् ।

अहिलेसम्म जिल्लाका १५ भन्दा बढी क्याम्पसको ताला खुल्न नसकेको विद्यार्थी संगठनले जनाएका छन् । ती क्याम्पसमा निर्वाचन अनिश्चित छ । माडी क्याम्पस माडी, उमावढी शेरचन कलेज दिव्यनगर, प्रेमबस्ती कलेज प्रेमबस्ती, शहिद स्मृति कलेज टाँडी, शहिद स्मार कलेज शारदानगर, अरुणोदय कलेज गीतानगरमा निर्वाचनको तयारी छ ।

नेपाल विद्यार्थी संघ चितवनका अध्यक्ष राजेश भुसालले स्ववियु निर्वाचन अनिश्चित बन्नु सामान्य कुरा नरहेको बताए ।  क्याम्पस प्रशासन र निर्वाचन समितिको कमजोरीका कारण निर्वाचन प्रक्रियाअन्तर्गत दल दर्ता भएपछि निर्वाचन रोक्नु भनेको त्रुटि भएको उनले बताए । संघ निर्वाचनको पक्षमा रहेको भन्दै उनले क्याम्पस निर्वाचन गर्न तयार नभएको बताए । नेविसंघका कारण कतै अवरोध नभएको उनको दाबी छ ।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन चितवनका अध्यक्ष प्रकाश कालाखेतीले स्ववियु निर्वाचन तत्काल हुनुपर्ने माग गरे । निर्वाचनको मुखमा आएर छाएको अन्यौलताले आफूहरूलाई सशंकित बनाएको उनको भनाइ थियो ।

निर्वाचन अधिकृत र क्याम्पस प्रशासन निर्वाचनबाट भाग्न खोजेको उनको आरोप छ । भुवानी शङ्कर कलेज खैरहनीमा निर्वाचनको प्रक्रिया नै सुरु हुन नसकेको र अन्य कलेजहरुमा प्रक्रिया सुरु भएर स्थगित भएको उनले जानकारी दिए ।

अनेरास्ववियु क्रान्तिकारीका जिल्ला इन्चार्ज अविनाश रम्तेलले धेरै जसो कलेजमा निर्वाचन नहुने देखिएको बताए । विद्यार्थी संगठन र क्याम्पस प्रशासनबीच सहमति जुट्न नसक्दा निर्वाचनको माहोल बन्न नसकेको उनले बताए ।

आंगिक क्याम्पसमा निर्वाचन हुन नसक्ने स्थिति रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १९:२९
Weather Update