News Griha :: न्यूजगृह
मौसममा शनिबारदेखि बदली, आइतबार सातै प्रदेशका केही स्थानमा वर्षा हुने

काठमाडौं— देशका केही स्थानमा शनिबार राति र आइतबार वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशमा उक्त प्रणालीको प्रभावमा सुरु भइसकेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हाल आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल)को अवस्था रहेको महाशाखाका मौसमविद् बिनु महर्जनले जानकारी दिइन् ।

शनिबार राति कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको उनले बताइन् । 'पहाडी भूभागमा हल्का वर्षा र हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ,' उनले भनिन् ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव शनिबारको तुलनामा आइतबार बढी देखिनेछ । आइतबार सातै प्रदेशका केही स्थानमा वर्षा हुन सक्ने उनले बताइन् । प्रभाव भने पश्चिम नेपालमा बढी हुने उनले स्पष्ट पारिन् ।

'मधेस प्रदेशका एक/दुई, कोशी प्रदेशका पनि एक/दुई र बागमती प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ,' उनले भनिन्, 'गण्डकीदेखि पश्चिमका केही स्थानमा वर्षाको सम्भावना अन्तभन्दा बढी छ ।'

लुम्बिनीबाहेक पश्चिम नेपालका अरू हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ । कोशी र बागमती प्रदेशको हिमाली भूभागका केही स्थानमा पनि हल्का हिमपातको सम्भावना रहेको उनले जानकारी दिइन् । आइतबार काठमाडौंमा भने वर्षाको सम्भावना कम छ । भइहाले पनि साँझतिर छिटपुट हुन सक्ने उनको भनाइ छ । काठमाडौंमा हिमपातको सम्भावना छैन ।

उनका अनुसार, उक्त वर्षा र हिमपात कतै पनि धेरै हुने खालको सम्भावना छैन । आइतबार रातिदेखि क्रमिक रूपमा मौसम खुल्दै जाने उनले जानकारी दिइन् ।

'सोमबार बिहान हिमाली र पहाडी भूभागका एक/एक दुई स्थानमा बदलीको सम्भावना छ,' उनले भनिन्, 'दिउँसोदेखि मुख्यतया सफा हुने देखिन्छ ।'

महाशाखाले वर्षा र हिमपातले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले सतर्कता अपनाउनु आग्रह गरेको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  २०:२४
Weather Update