
ललितपुर— बाढीबाट क्षति पुगेको नख्खुडोल पुलमर्मत नहुँदा स्थानीयहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । ललितपुर महानगरपालिका–१४ को नख्खुडोल र वडा नं १५ को सैँवु जोड्ने नख्खु खोला पुल गत असोज १२ गते आएको बाढीले क्षतिग्रस्त बनेको थियो ।
बाढीले प्वाल पारेको पुल फलामको सहायताले दुई पाङ्ग्रे सवारी गुड्न सक्ने गरी अस्थायीरुपमा एकतर्फी सञ्चालनमा ल्याइको छ । ललितपुर महानगरपालिका–२५ का स्थानीय उमेश थापा नख्खुडोल पुल भत्केपछि करिब डेढ किलोमिटर पश्चिमतर्फको नख्खु पुल हुँदै यात्रा गर्नुपर्ने बाध्यता थपिएको सुनाउँछन् ।
साँघुरो पुलमा अहिले प्रायःजसो दुईपाङ्ग्रे सवारी साधानको जाम हुने गरेको छ । नख्खुडोलका स्थानीय कमल राईले कार्यालय समयमा पुलमा अत्यधिक जाम हुँदा समस्या भइरहेको उनले बताए ।
पुल मर्मतका लागि ललितपुर महानगरपालिकाले ६७ लाख रुपैयाँ विनियोजन गरेको छ । ललितपुर महानगरपालिका–२५ का वडाध्यक्ष दौलतकुमार खत्रीले पुल मर्मत चाँडै सुरु गरिने बताए ।
ललितपुर महानगरपालिका–१४ का वडाध्यक्ष अमृत महतले ठेक्का प्रक्रियामा केही ढिलाइ भएकाले पुल मर्मतमा विलम्ब भएको स्वीकार गरे ।