News Griha :: न्यूजगृह
राष्ट्रिय प्रसारण लाइनले उज्यालो बन्दै मनाङ

मनाङ— मनाङको पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प) र थोराङ्ला भञ्ज्याङसम्म राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भएसँगै सौर्य ऊर्जाको बाध्यता हटेको छ । 

मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारमा चार हजार दुई सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा ५० केभिए क्षमताको वितरण ट्रान्सफर्मर राखेर विद्युत् आपूर्ति दिन थालेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।    

ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष च्योल्पा गुरुङले राष्ट्रिय प्रसारण लाइन पुगेपछि धेरै सहज भएको बताए । प्राधिकरणले धार्मिक एवम् पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत तिलिचो तालको बेस क्याम्पसम्म राष्ट्रिय प्रसारण लाइनको विद्युत् पु-याएको जनाएको छ । 

लमजुङको मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुको राधी साना जलविद्युत् केन्द्रको सबस्टेसनबाट ३३ केभी विद्युत् प्रसारण लाइन चामे गाउँपालिका–१ स्याक्र्यु ३३/११ केभी सबस्टेसनमा पुगेको छ । सबस्टेसनबाट ११ केभी लाइन सदरमुकाम चामे हुँदै बेस क्याम्पमा पु-याइएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले मनाङमा विद्युत् आपूर्तिका लागि ४५ किलोवाटको चामे साना जलविद्युत र ८० किलोवाटको मनाङ साना जलविद्युत् केन्द्र सञ्चालन गरिरहेको छ । राष्ट्रिय प्रसारण लाइन ट्रिपिङ भई बन्द भएको बेला साना जलविद्युत केन्द्रबाट विद्युत् उत्पादन गरी आपूर्ति गरिएको प्राधिकरण मनाङ वितरण केन्द्र प्रमुख राजु महतोले  बताए ।

मर्स्याङ्दी करिडोर दुई सय २० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा दुई सय २० केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भई त्यहाँबाट विद्युत् प्रवाह भइरहेको र मनाङको विद्युत् आपूर्तिमा सुधार हुनेछ ।

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  १२:४५
Weather Update