काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगो, हिटर र गिजरको प्रयोग गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति नै जारी गरेर यस्ता उपकरणको प्रयोगमा सजग रहन आग्रह गरेको हो ।
मन्त्रालयका अनुसार, कोठामा आगो, हिटर वा गिजर प्रयोग गर्दा हावा राम्रोसँग प्रवाह नभए कार्बन मनोअक्साइड जम्मा भएर स्वास्थ्यमा गम्भीर असर पुर्याउने र ज्यानसमेत जान सक्छ ।
मन्त्रालयले ताप्ने क्रममा टाउको दुख्ने, रिंगटा लाग्नेजस्ता लक्षण देखिए तत्काल झ्यालढोका खोल्न र खुला स्थानमा बस्न सुझाएको छ ।
सकेसम्म कोइलाको आगो नताप्न तथा आगो वा हिटर ताप्दा कागज, कपडाजस्ता सजिलै बल्ने वस्तु नजिक नराख्न, सुत्नुअघि हिटर बन्द गर्न, गिजर मेसिन बाथरुम बाहिर राख्न मन्त्रालयको आग्रह छ ।
यी उपकरणको प्रयोगबाट केही स्वास्थ्य जटिलता निम्तिए तत्काल अस्पताल जान वा मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गर्न मन्त्रालयले अपिल गरेको छ ।