बुटवल — इलाका प्रहरी कार्यालयले बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संलग्न सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।
प्रहरीले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, उपाध्यक्ष छविलाल जोशी बञ्जाडेसहित ४२ जनालाई प्रतिवादी बनाउँदै प्रतिवेदन तयार गरेको छ । उनीहरु सबैलाई मुद्दा चलाउनु पर्ने प्रहरीको राय छ । प्रहरीको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयका मुख्य न्यायाधिवक्ता प्रेमराज पौडेलसहितको टोलीले अध्ययन गर्न सुरु गरेको छ ।
इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले सुरु मुद्दाका २८ र पुरक जाहेरीका थप १४ जना गरी ४२ जनालाई मुद्दा चलाउने रायसहितको प्रतिवेदन शुक्रबार जिल्ला न्यायाधिवक्ताको कार्यालयमा बुझाइएको बताए । ‘हामीले अनुसन्धान प्रतिवेदन शुक्रबार सरकारी वकिल कार्यालयमा बुझाएका छौं ।
प्रतिवेदन अध्ययन सुरु भएको छ,’ उनले भने, ‘पुरक जाहेरीमा उल्लेख भएका रवि लामिछाने, छविलाल जोशीसहित गोर्खा मिडिया नेटवर्कलगायत गितेन्द्रबाबु राईसँग पनि जोडिएका विभिन्न ११ कम्पनी र त्यसमा संलग्न व्यक्तिलाई प्रतिवादी बनाउन सुझाव दिएका छौं ।’ थप अनुसन्धान र अध्ययन अब सरकारी वकिल कार्यालयबाटै हुने उनले बताए ।
लामिछाने जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर बिहीबार छुटेका थिए । उनीमाथि पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । उनी कास्कीबाट बिहीबार धरौटीमा रिहा भएपछि रूपन्देही प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो ।
रूपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठौरले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गर्ने गरी रायसहितको प्रतिवेदन तयार गरेर अध्ययनका लागि सरकारी वकिल कार्यालयमा बुझाइएको बताए ।
कास्की प्रहरी हिरासतमै रहेका बेला कात्तिक १९ गते जिल्ला अदालत रूपन्देहीबाट पनि लामिछानेलाई पक्राउ पुर्जी जारी भएको थियो । कास्की प्रहरीमा अनुसन्धान भइरहेका बेला कात्तिक २७ गते भैरहवा ल्याएर रूपन्देहीको सुप्रिम सहकारी ऋण तथा बचत संस्थाको रकम अपचलन सम्बन्धमा बयान भएको थियो । तिनदिनसम्म बयान गराएर लामिछानेलाई पुनः कास्की नै लगिएको थियो ।
यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा वैशाख ३ मा अदालतमा दर्ता भएको थियो । त्यतिबेला एक हजार ८ सय ३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । प्रहरी स्रोतका अनुसार पुरक जाहेरीपछि रविलाई ४ करोड र छविलाल जोशीलाई ४ करोड बिगो दाबीसहित मुद्दा दायर गर्नुपर्ने गरी प्रतिवेदन तयार भएको छ ।