काठमाडौं— प्रमुख तीन दलनिकट कर्मचारी संगठनका नेताहरूले निजामती विधेयकलाई सकसमा पारेका छन् । उनीहरूले दलीय ट्रेड युनियन खारेज गरे हडतालमा उत्रिनेसम्मको धम्की दिएका छन् ।
शुक्रबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले दलनिकट ट्रेड युनियनका नेताहरूलाई निजामती विधेयकबारे छलफलका लागि बोलाएको थियो । छलफलमा उनीहरूले ट्रेड युनियनबारे पुरानै व्यवस्थालाई निरन्तरता दिनुपर्ने बताए ।
बैठकमा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले ट्रेड युनियनको अधिकार खुम्च्याउन नहुने बताए । उनले ट्रेड युनियनलाई हटाउन नहुने बरु व्यवस्थित गर्नुपर्नेमा जोड दिए । उनले निजामती विधेयकमा छलफल गर्दा प्रदेश र स्थानीय तहका कर्मचारी खुसी नभएको पनि जिकिर गरे ।
'जति ट्रेड युनियन छौँ, साझा सुझाव छ । नौ वर्षको समयावधिमा जे टुंगिएका छन्, फेरि खोतल्ने कुराले काम कारबाही ढिला गर्छ कि । संघीय निजामती विधेयकमा छलफल गर्दा प्रदेश र स्थानीय तहका कर्मचारी खुसी छैनन् । कानुनले विभेद गर्न हुन्न,' उनले भने ।
उनले सरुवा र बढुवा प्रणालीलाई व्यवस्थित गर्नुपर्ने बताए । उनले कर्मचारीको प्रमोसन छिटो हुने व्यवस्था गर्नुपर्ने पनि बताए ।'चक्रिय स्वचालित गरौँ । कसैलाई हारगुहार गर्न नपर्ने गरी लेखौँ । पाँच वर्ष एउटै पदमा काम गर्नेलाई एक र १० वर्ष काम गरेकालाई दुई तह वृद्धि गरौँ । उमेरहद ६० बनाऔँ, विभेद गर्न हुन्न । सेवा प्रवेश महिलाका लागि ४० र पुरुष ३५ ठिक छ,' कोइरालाले भने ।
यस्तै, नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले ट्रेड युनियनबारे 'बेमौसम बाजा' बजाएको बताएका छन् । पोखरेलले अहिले ट्रेड युनियनलाई लिएर एकल बहस गरिएको बताए ।
'देशमा जुन परिवर्तन भयो, फ्रन्टलाइनमा राष्ट्रसेवक गएको छ । एकल बहस भयो, दुस्ख लागेको छ । लोकतन्त्रको कुरा गर्नुहुन्छ । एकलको कुरा किन?,' उनले भने ।
उनले ट्रेड युनियनको अधिकारलाई एक इन्च पनि तलमाथि गर्न नसक्ने बताए । 'व्यवस्थित गरौँ, कसैले गलत गरेको छ भने कारबाही गरौँ । २१औँ शताब्दीमा विचार राख्न पाइन्छ,' उनले भने ।
उनले सरुवा व्यवस्थालाई वैज्ञानिक बनाउनुपर्नेमा जोड दिए । 'सरुवामा अराजकता भएको छ भने निकास निकाल्ने हो,' उनले भने ।
पोखरेलले विधेयकमा ट्रेड युनियन खारेजको व्यवस्था गरिए बन्द हडतालमा उत्रिने चेतावनी दिए । उनले कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले बन्द हडतालसम्मको अधिकार दिएको स्मरण गरे ।
यसैगरी, नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले ट्रेड युनियन हटाउन नहुने बताएका छन् । अध्यक्ष भट्टले ट्रेड युनियनको हकमा पुरानै व्यवस्थालाई निरन्तरता दिनुपर्ने बताए ।
'सुशासन बिगार्ने ट्रेड युनियन हो, हटाउनुपर्छ भन्ने भाष्य निर्माण भइरहेको छ । हामी नेपाली हौँ । हाम्रो अधिकार अतिक्रमण गर्न मिल्छ कि मिल्दैन ? ट्रेड युनियनका हकमा जे व्यवस्था छ, त्यही राख्नुपर्छ । कसरी व्यवस्थित गर्ने ऐन आएपछि छलफल गरौँला,' उनले भने ।
उनले आस्थाका आधारमा सरुवा गर्ने गरिएको पनि बताए । 'आस्थाका आधारले सरुवा गरिएको छ । दोषजति हामीलाई, अरूलाई काम अन्तबाट भएको छ । सरुवालाई ट्रेड युनियनले हेर्न नपाउने बनाऔँ,' उनले भने ।